समाज

कोशीमा पानी बढेपछि ४० ढोका खोलिए

By admin

July 13, 2019

सुनसरी । लगातार परेको पानीले सप्तकोशीमा पानीको बहाव शनिबार अपरान्ह तीन लाख नाघेको छ। पहाडी क्षेत्रमा पानी पर्न नरोकिएपछि बहाव उच्च भएको हो।

अपरान्ह ४ बजेको मापनअनुसार कोशीमा पानीको बहाव ३ लाख ७ हजार ६ सय ५७ क्यूसेक पुगेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक इश्वरी दाहालले जानकारी दिए। उनका अनुसार अहिले ५६ ढोकामध्ये ४० ढोका खोलिएका छन्। वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ।

यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। सो क्षेत्रमा अहिले मन्त्री कार्की सहित सुनसरी प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहितको बैठक बसेको थियो ।