शिक्षा

बिएण्डसीमा नयाँ प्रिन्सिपलका निःशुल्क तीन योजना

By admin

July 25, 2019

झापा । सामाजिक उत्तरदायित्वअन्तर्गत बिर्तामोडको बिण्डसी हस्पिटलले तीन वटा विभिन्न योजना अघि सारेको छ । हस्पिटललाई देशकै नमुना हस्पिटल बनाउने उद्देश्यले ती योजना निःशुल्क गर्न लागेको हो ।

हस्पिटलमा प्रिन्सिपलको रुपमा नियुक्त भएका प्राध्यापक डाक्टर रामप्रसाद उप्रेती बिहीबार पत्रकार सम्मेलन गरी हस्पिटललाई नमूना बनाउने अठोट गरे । उनको योजनाअनुसार आउँदो सातादेखि विभिन्न समुदायबाट प्रतिनिधित्व गराई प्राथमिक उपचारसम्बन्धी ज्ञान दिइनेछ । गाउँघरमा हुने सामान्य घटना, विपद् व्यवस्थापनमा उपयोग हुन किसिमका र व्यक्तिगतरुपमा पनि सघाउ पुग्ने प्राथमिक उपचारका पद्दति हस्पिटलका डाक्टर, नर्सहरुले तालिम दिने प्राडा. उप्रेतीले जानकारी दिए ।

उनका अनुसार विद्यालय छनौट गरी ८, ९ र १० कक्षाका विद्यार्थीहरुलाई लक्षित गरी प्राथमिक उपचारसम्बन्धी तालिम दिइनेछ । जसका लागि डा. विवश पौडेलको संयोजकत्वमा समिति बनिसकेको छ । यो तालिम झापासँगै इलाम, पाँचथर र ताप्लेजुङमा पनि निःशुल्करुपमा प्रदान गरिने उतले बताए ।

अर्को योजनामा झापाका ५ सय जनालाई स्वस्थ रहनका लागि योग कक्षा दिने रहेको छ । पतञ्जलिका गुरु बाबा रामदेवलाई नै ल्याएर योग गराउने उनको उद्देश्य छ । त्यस्तै, लाइफ स्टायल क्लिनिक सञ्चालन गर्ने उनको योजना उनको छ ।

नौ सय शैय्याको बिएण्डसी झापामा स्थापित हुँदा पनि स्थानीय समुदायले केही नपाइरहेको बताउँदै उनले आफ्नै स्रोत साधन परिचालन गरेर निःशुल्करुपमा सामाजिक उत्तरदायित्व बहन गर्न लागिएको उनको भनाइ थियो ।

साउन ५ गते बिएण्डसीमा नियुक्ति लिएको उनले काठमाडौंस्थित महाराजगञ्ज मेडिकल कलेजमा लामो समय काम गरेका थिए । डाक्टर उप्रेतीले भने, ‘म झापाली नै हुँ, झापामा नै रहेर सेवा गर्न पाउनु गर्वको कुरा हो ।’ डाक्टर उप्रेतीले सबैसँग मिलेर नयाँ जोश र जाँगरका साथ काम गर्न आफू झापा आएको बताए ।

यसै शैक्षिक सत्रबाट पहिलो पटक बिएण्डसी मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी गरेको छ । उनले बिएण्डसी मेडिकल कलेजबाट दक्ष चिकित्सक उत्पादन गर्ने समेत गरेका छन् । शिक्षण अस्पतालमा ४४ वर्ष प्रमुख भएर काम गरेको अनुभव संगालेका प्राडा उप्रेतीले बिएण्डसीमा जागिर खान नआएको पनि दाबी गरे ।

डा. उप्रेतीले बिएण्डसीलाई नम्बर १ हस्पिटल बनाएर छाड्ने प्रतिज्ञा समेत गरेका छन् । उनले विदेशका स्तरीय हस्पिटलसँग सहकार्य समेत गर्ने बताए । मेडिकल कलेजमा अनुसन्धान गर्दै सेवा दिने प्रतिवद्धता जनाएका छन् । ‘बिरामीको सेवा नै पहिलो प्राथमिकता हो’, उनले भने, ‘प्रभावकारी सेवा दिएर इतिहास रच्ने काम गरिन्छ ।’ कार्यक्रममा मेडिकल डाइरेक्टर डा। निराजन पराजुली, हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीलगायतले पनि आफ्नो भनाइ राखेका थिए ।