झापा । बिर्तामोड सरसफाइ अभियानको १६१औ हप्तामा आज स्थानीय जनप्रतिनिधिसँग छलफल, अन्तक्रिया गरी मनाइएको छ । बाग्मती सरसफाई अभियानका अभियन्ता तथा बिएण्डसी हस्पिटलका प्रिन्सिपल प्राडा रामप्रसाद उप्रेतीको उपस्थितिमा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा डा. उप्रेतीले बाग्मती सफाइ अभियानका क्रममा भएका अनुभव साटेका थिए । उनले आउँदा शनिबारदेखि बिएण्डसी हस्पिटलका तड नर्फबाट पनि सरसफाइ अभियानमा सहभागी हुने जानकारी दिए ।
नगरपालिकाका प्रवक्ता तथा १ नम्बर वडाका अध्यक्ष अग्नि पाण्डेले सरसफाई अभियानलाइ पूर्ण समिति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले बिर्तामोडको फोहोर व्यवस्थापनका लागि यस आर्थिक वर्ष ५० लाख बजेट नगरपालिकाले विनियोजन गरेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै २ नम्बर वडाका अध्यक्ष नगेन्द्र संग्रौलाले बिर्तामोड नगरमा फोहोर गर्नेलाई दण्डित गरेर जानुपर्ने धारणा राखे । स्थानीयस्तरबाट अभियान सञ्चालन गरिएकोमा खुसी व्यक्त गरेको उनले अभियानलाई कहिलेसम्म निरन्तरता दिन सकिन्छ भन्ने जिज्ञासा राखेका थिए ।
त्यस्तै, ५ नम्बर वडाध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले अभियानकर्मीसँग जनप्रतिनिधको साथ रहेको सुनाए । उनले हरेक वडामा सरसफाई समिति निर्माण गरेर अभियानलाई तीव्र गतिमा लैजानुपर्ने धारणा राखे ।
अभियानका संयोजक विष्णुप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारी, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल श्रेष्ठ, अभियानलाई साथ दिँदै आएका प्रहरी निरीक्षक ढुण्डीराज गिरी, बोस्टन एजुकेशनका सुमन शर्मा जम्मर कट्टेल, अभियान नेपालका आकाश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भरत बस्नेतले गरेका थिए ।