झापा । विर्तामोडको व्यापारिक केन्द्र हनुमान सेन्ट्रलमा भएको आगलागी भर्खरै नियन्त्रणमा आएको छ । करिब डेढ घण्टाको अथक प्रयासपछि आगलागी नियन्त्रणमा आएको हो । आगो नियन्त्रणका लागि बिर्तामोड, मेचीनगर र भद्रपुरको दमकल परिचालन गरिएको थियो । त्यस्तै, स्थानीयबासी, सुरक्षाकर्मीको लामो प्रयासपछि करिब ८ः१५ बजे आगो नियन्त्रणमा आएको हो । सेन्ट्रलमा रहेको एक जुत्ता पसलको एसी सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ तर प्रहरीले भने पुष्टि गरिसकेको छैन ।
सेन्ट्रलको ग्राउण्ड फ्लोरमा रहेको इर्की जुत्ता पसलको एसीमा विद्युत् सर्ट हुँदा आगलागी भएको सेन्ट्रलका कर्मचारीले जानकारी दिएका छन् । साँझ ७ बजेबाट आगलागी भएको हो ।
भवनभित्र धुवाँ भरिँदा तत्कालै आगो नियन्त्रणमा समस्या आएको थियो भने लामो प्रयासपछि अहिले आगो नियन्त्रणमा हुँदै गएको इप्रका बिर्तामोडले जनाएको छ । आगलागीबाट इर्की र सामसुंगको मोवाइल डिलर जलेर नस्ट भएको सेन्ट्रलका व्यवसायी सविन कार्कीले जानकारी दिए ।
के कति क्षति भयो भन्ने विवरण आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीपछि विद्युत् अवरुद्ध भएकाले पनि कुन तला र कुन सटरमा आगो लागेको भन्ने छुट्याउन नसक्दा पनि आगो नियन्त्रणमा लिन कठिन भएको थियो । फेरि भुइँ तलाबाट धुँवाको मुस्लो धेरै आउँदा आगो लागेको मुख्य ठाउँ पत्ता लगाउन गाह्रो भएको थियो ।