खेलकुद

चुलाचुलीको पोष्टमा सतासीधामको ४ गोल

By admin

July 31, 2019

विनोद सापकोटा, झापा । झापाको शिवसताक्षीमा आजदेखि सुरु १ नम्बर प्रदेशस्तरीय उपमेयर कप महिला फुटबल नकआउट प्रतियोगिताको उद्घाटन खेलमा सतासीधाम स्पोर्टिङ्ग क्लब झापाले विजयी सुरुवात गरेको छ । इलामको चुलाचुली महिला फुटबल क्लबलाई ४-० गोलको फराकिलो अन्तरले हराउँदै सतासीधामले जीत निकालेको हो ।

जीतका लागि मिना राईले २ गोल गरेकी थिइन् भने मुना लावती र जमुना आले मगरले समान १-१ गोल गरेका थिए । मुनाले पहिलो हाफको १५औँ मिनेटमा जमुनाको क्रस पासमा गोल गर्दे टिमलाई अग्रता दिलाएकी थिइन् । दोश्रो हाफको १०औँ मिनेटमा मिना राईको पासलाई जमुनाले गोल गर्दै नतिजा दोब्बर बनाइन् ।

दोस्रो हाफकै १४ र २९औँ मिनेटमा मिना राईले २ गोल गरेर फराकिलो नतिजा निकालेकी थिइन् । खेलको वुमन अफ दी म्याच विजेता टिमकी दुई गोलकर्ता मिना राई घोषित भइन् । उनले नगद १ हजार पुरस्कार पाइन् ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा साउन २२ गतेसम्म हुने प्रतियोगिता अन्तर्गत भोलि बिहीबारको खेल मोरङ्गको उर्लाबारी र झापाको पारिजात महिला फुटबल क्लबबीच हुने आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गले बताए ।

प्रतियोगितामा झापा, इलाम र मोरङ्गका १० महिला फुटवल टिम सहभागी छन् । विजेताले टिमले नगद ५१ हजार र उपविजेताले ३१ हजार पाउने आयोजक समितिले जनाएको छ ।

यसअघिको उद्घाटन कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिकाका मेयर चन्द्रकुमार सेर्माले नगरलाई विश्वव्यापीरुपमा चिनाउन खेलकुदको अहम भूमिका रहने बताए ।

आयोजक शिवसताक्षी नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्वा तामाङ्गको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जग्गा व्यवस्थापन आयोगका अध्यक्ष राधाकृष्ण खनाल, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, मदन भण्डारी स्पोटर्स एकाडेमीका केन्द्रीय सदस्य डम्बर अधिकारीले प्रतियोगिताको कामना गरेका थिए । आयोजक समितिका सदस्य दिपक भेटवालको स्वागत मन्तव्य रहेको सो कार्यक्रमको सञ्चालन सन्तोष पौडेलले गरेका थिए ।