कुशल तिमल्सिना, काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणका लागि नेपालको टिम तयारी प्रक्रिया लगभग पूरा भएको छ । सागमा समावेश गरिएको २७ मध्ये क्रिकेटबाहेक २६ खेलको बन्द प्रशिक्षणले पूर्णता पाएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले साउन १ देखि नै बन्द प्रशिक्षण सुरु गर्न सम्बन्धित खेल संघलाई निर्देश गरेको थियो । केहीले त्यतिबेलै प्रशिक्षण सुरु गरिसकेका छन् भने विभिन्न कारणले रोकिएका खेलको बन्द प्रशिक्षण पनि बिहीबार सुरु हुँदै छ ।
प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडीलाई बन्द प्रशिक्षणमा सहभागी गराइएको छ । यसअघि स्वर्ण विजेताले मात्र सागको तयारीमा सहभागी हुन पाउने मापदण्ड तोकिए पनि प्रभावकारी नहुने भन्दै परिषदा नवनियुक्त सदस्य–सचिव रमेश सिलवालले पदक विजेता सबैलाई प्रशिक्षणमा सहभागी गराउने व्यवस्था गरेका हुन् ।
राखेपको राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राईले करिब १५ सय खेलाडी बन्द प्रशिक्षणमा सहभागी हुने जानकारी दिएका छन् । मंसिर १५ देखि २४ सम्म हुने १३औं दक्षिण एसियाली खेलकुदमा नेपालको तर्फबाट ३ सय ३२ पुरुष र ३ सय १४ महिला खेलाडीले सहभागिता जनाउँदै छन् ।
क्रिकेटको बन्द प्रशिक्षण सुरु भएको छैन । पुरुष टोली हालै टान्टी-२० विश्वकप एसिया छनोट खेलेर फर्किएको छ । क्रिकेटको पनि केही दिनमै काठमाडौंको कीर्तिपुर र मूलपानी मैदानमा बन्द प्रशिक्षण सुरु हुने जानकारी राईले दिए । क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटाले साग खेलकुद खेल्ने टिमबारे टुंगो नलागेकाले बन्द प्रशिक्षण सुरु हुन नसकेको बताए ।
‘हामीले पुरुष स्पर्धामा यू-२३ टिम खेल्ने कि राष्ट्रिय टोली खेल्ने भन्ने निश्चित भइसकेको छैन’, मुख्य प्रशिक्षक टमाटाले भने, ‘महिलातर्फ राष्ट्रिय टोली नै खेल्ने हो । बर्खाको समय भएकाले इन्डोर प्रशिक्षण गर्नुपर्छ । त्रिवि क्रिकेट मैदान खेल्न योग्य बनाउने कार्य बुधबार सुरु भएको छ । बन्द प्रशिक्षणमा रहने खेलाडीको नाम तय गरी यसै साताभित्र प्रशिक्षण सुरु गर्नेछौं ।’
बन्द प्रशिक्षणमा रहेका अधिकांश खेलका खेलाडीहरू नेपालमै प्रशिक्षणरत छन् । ‘परिषदसँगको समन्वयमा बक्सिङका २० राष्ट्रिय खेलाडी थाइल्यान्डमा २ महिनाका लागि गएका छन् । आर्चरीका ४ र पौडीका ४ खेलाडी जापान प्रशिक्षण लिन गएका छन् । उनीहरू ओलम्पिक तयारीसम्बन्धी विशेष प्रशिक्षणमा रहने छन्’, राष्ट्रिय टिम तयारी निर्देशक राईले भने, ‘अन्य खेल संघबाट पनि वैदेशिक प्रशिक्षणको प्रस्ताव आएमा खेलको सम्भावना हेरेर स्वीकृति दिनेछौं ।’
आर्चरी र कराँतेका एक-एक स्पर्धामा खेलाडी छनोट हुनै बाँकी छ । आठौं राष्ट्रिय खेलकुदमा यी खेलको टिम स्पर्धा समावेश नभएका कारण बन्द प्रशिक्षणमा अन्योल भएको हो । कराँतेको टिम कुमितेको खेलाडी छनोट बिहीबार हुँदै छ ।
प्रतियोगिताका लागि अधिकांश संघले आफ्ना टिमलाई काठमाडौं उपत्यकामै बन्द प्रशिक्षण गराइरहेका छन् । ७ खेलको बन्द प्रशिक्षण काठमाडौं उपत्यकाबाहिर भइरहेको छ । कुस्तीको हेटौंडा, बास्केटबलको धरान, खोखोको बर्दिया तथा आर्चरी, पाराग्लाइडिङ र ह्यान्डबलको बन्द प्रशिक्षण पोखरामा सुरु भएको छ । ह्यान्डबल, बास्केटबल, आर्चरी, खोखो, कबड्डीका खेलको बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुन लागेको हो । कुस्तीको साउन १० देखि र फुटबलको १३ देखि प्रशिक्षण सुरु भएको राखेपले जनाएको छ ।
पौडीले नेपालमा रहेका खेलाडीलाई कालोपुलस्थित द वेस्ट भेन्यूको पोखरीमा प्रशिक्षण गराइरहेको छ । ‘हाम्रा ४ खेलाडी ओलम्पिक तयारी कोर्सअन्तर्गत प्रशिक्षण लिन जापान गएका छन् । यसले साग खेलकुदलाई पनि सहयोग गर्नेछ । गौरिका सिंह, डुवाना लामालगायतका खेलाडी विदेशमै प्रशिक्षणरत छन्, अन्य खेलाडीलाई एउटा पार्टी प्यालेसको पोखरीमा प्रशिक्षण राखेका छौं । केही दिनमै सातदोबाटोको आफ्नै पोखरीमा ल्याउने छौं’, पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले भने ।
चीनको सहयोगमा सातदोबाटोमा निर्माण भएको सुटिङ रेन्ज ठेकेदारले हस्तान्तरण नगरेका कारण सुटिङको बन्द प्रशिक्षणमा भने असर परेको छ । टिमलाई आर्मीको रेन्जमा साताको २ दिन प्रशिक्षण दिने गरिएको छ भने बाँकी समयमा फिजिकल ट्रेनिङमात्र हुने गरेको छ । ‘यति ठूलो प्रतियोगिताका लागि जस्तो तयारी हुनुपर्ने थियो । त्यो नभएकाले हामीलाई समस्या भएको छ,’ सुटिङकी प्रशिक्षक शकुन्तला श्रेष्ठले भनिन्, ‘राम्रो ठाउँमा प्रशिक्षण गर्ने चाहना खेलाडीले पनि राखेका छन् ।’
राखेपले १३ औं साग खेलकुदमा समावेश २७ मध्ये २६ खेलको खेल आयोजनास्थल पनि टुंगो लगाएको छ । फेन्सिङ खेलबाहेक अन्यको आयोजनास्थल टुंगो लागिसकेको राष्ट्रिय टिम तयारी निर्देशक राईले जानकारी दिए । तर आवश्यकता हेरेर अन्य खेलको पनि आयोजनास्थल हेरफेर हुनसक्ने राखेपले बताएको छ । पोखरामा ७ खेलको प्रतिस्पर्धा हुनेछ भने बाँकी सबै खेल काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा हुनेछन् । कान्तिपुरमा समाचार छ ।