सांकेतिक तस्बिर

समाज

जंगली च्याउले अकालमा ज्यान लिँदै !

By admin

August 04, 2019

रविन भट्टराई, विराटनगर । जंगली च्याउको तरकारी खाँदा गत मंगलबार पाँचथर फाल्गुनन्द-५ की ४८ वर्षीया सुनीता चेम्जोङ बिरामी परेकी थिइन्। उनको उपचारका क्रममा विराटनगरमा मृत्यु भयो। सुनीताकी सासू सन्तमाया बिरामी परेकी छन्। बिर्तामोडमा सन्तमायाको उपचार भइरहेको छ।

उदयपुरका छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर गत साउन ५ मा तीन परिवारका १२ जना बिरामी भए। त्रियुगा-९ राजाबासमा एक परिवारका पाँच र कटारी-४ सिसाघारीका दुई परिवारका सात जना बिरामी भएका हुन्। उनीहरु सबैको उपचार विराटनगरमा भयो।

उसैगरी असार १८ गते बिरामी परेकी संखुवासभा चिचिला-१ की पदमकुमारी राईको उपचारका क्रममा मृत्यु भयो। खाँदबारी अस्पतालमा उपचार हुन नसकेपछि ५९ वर्षीय राईलाई काठमाडौँ लगिएको थियो। जंगलबाट च्याउ खोजेर ल्याई पकाएर खाएपछि पदमकुमारी र छिमेकी गौमाया राई बिरामी भएका थिए। गौमाया भने धरानमा उपचार गराएर घर फर्किएकी छन्।

प्रदेश १ मा असारयता मात्र जंगली च्याउ खाएर ज्यान गुमाएका र उपचार गरी ज्यान जोगाएका केही घटना हुन् यी। विषालु च्याउ खाएर प्रदेश १ का जिल्लामा बर्सेनि ज्यान गुमाउनेको संख्या थपिँदो छ। बर्खामा जंगलमा उम्रिने च्याउको पहिचान नगरी खाँदा यो समयमा बिरामी हुने र ज्यान गुमाउनेको संख्या बढी हुने गरेको देखिन्छ।

नागरिकमा सचेतना कमी हुँदा अकालमा ज्यान गुमाउनेको संख्या थपिने गरेको चिकित्सक बताउँछन्। ‘जंगली च्याउ खानु जोखिम हुँदाहुँदै पनि खाएको देखिन्छ। धेरै त परिवार नै पनि बिरामी हुन्छन्’, वरिष्ठ चिकित्सक शरद भट्टराई भन्छन्, ‘जंगल, भीर, कान्ला, खोल्सा र बारीमा उम्रने च्याउ धेरैजसो विषालु हुन्छ। यसको सेवनबाट ज्यान जाने सम्भावना बढी हुन्छ।’

नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्। जसमध्ये १ सय १० प्रजातिका मात्र खानयोग्य मानिन्छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन गाह्रो पनि हुन्छ । सामान्यतः खानयोग्य च्याउको माथिल्लो भाग छुँदा चिप्लो हुन्छ । खस्रो भए विषालु हुने कृषि विशेषज्ञ बताउँछन्।

वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानुअघि विचार पु‍र्‍याउनुपर्ने चिकित्सक भट्टराईको भनाइ छ । उनका अनुसार तीतो स्वाद, नमीठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुन् सक्छन् । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् ।

‘विषालु च्याउ धेरै समयसम्म रहन्छ, जबकि खानयोग्य च्याउ केही दिनपछि कुहिएर जान्छ’, उनी भन्छन्, ‘विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ, यो हेर्दा सफा र आकर्षक देखिन्छ।’ कहिलेकाहीं खानयोग्य च्याउ पनि भण्डारण गर्ने तरिका नमिल्दा विषाक्त हुन सक्ने चिकित्सक बताउँछन्।

पहाडी जिल्लामा वैशाखदेखि भदौसम्म जंगली च्याउ खाएर स्थानीयको ज्यान जाने गरेको प्रदेश १ प्रहरीको तथ्यांकले देखाएको छ। प्रदेश प्रहरी प्रवक्ता एसएसपी किशोर दाहालले यो समयमा सरदर वार्षिक पाँच जनाले ज्यान गुमाउने गरेको बताए। ‘च्याउ खाएर र विषाक्त वस्तुको सेवनबाट मृत्यु हुनेको तथ्यांक एकै ठाउँमा राख्ने गरेका छौं’, उनले भने, ‘च्याउ खाएर सरदरमा एक आर्थिक वर्षमा प्रदेश १ मा पाँच जनाले ज्यान गुमाउने गरेका छन्।’

एकै परिवारका पाँच बिरामी

जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा सर्लाहीको बागमतीमा एकै परिवारका पाँच जना बिरामी परेका छन्। बागमती-१२ का ४० वर्षीया राजकुमारी बोट र उनका छोराहरू कृष्ण, अमन, करण र बुहारी सुनीता बिरामी भएको इलाका प्रहरी हरिवनले जनाएको छ। हरिवनस्थित स्वाभिमान अस्पतालमा उनीहरूको उपचार भइरहेको छ। अन्नपूर्ण पोष्टबाट