समाज

भोलि मेचीनगर, बुद्धशान्ति, गौरादह र गौरीगञ्जमा सार्वजनिक बिदा !

By admin

August 22, 2019

झापा । झापाका चार वटा स्थानीय तहमा भोलि शुक्रबार सार्वजनिक बिदा दिइएको छ। कृष्ण जन्माष्टमी तथा गौरा पर्वको अवसर पारेर दुई नगरपालिका र दुई गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।

बिदा दिइएको नगरपालिकामा मेचीनगर नगरपालिका र गौरदह नगरपालिका रहेका छन् भने अन्य दुई गाउँपालिका गौरीगञ्ज गाउँपालिका र बुद्धशान्ति गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । स्थानीय पर्वमा आफ्नो पालिकाभित्र स्थानीय बिदा दिने अधिकार कानुनले स्थानीय तहलाई नै दिएसँगै झापाका १५ वटा पालिकामध्ये चार वटाले सो अधिकार प्रयोग गरी बिदा दिएका हुन्।

हिन्दुहरूको मुख्य पर्वमध्ये कृष्ण जन्माष्टमीका दिन स्थानीय बिदा दिने नगरपालिकाले निर्णय गरेको मेचीनगर नगरपालिका प्रमुखका स्वकीय सचिव विजय भट्टराईले जानकारी दिए। नगरपालिकामा बुधबार भएको छलफलबाट बिदा दिने निर्णय गरेको उनको भनाई छ।

त्यस्तै, गौरीगञ्ज गाउँपालिकामा बिहीबार बसेको बोर्ड बैठकले कृष्ण जन्माष्टमीमा स्थानीय बिदा दिने निर्णय गरेको छ। सो बिदाका बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले सूचना प्रकाशन गर्दै जानकारी गराएको हो।

त्यसैगरी, गौरादह नगरपालिकाले कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले सूचना प्रकाशन गर्दै बिदाको बारेमा जानकारी गराएको हो।

त्यस्तै, बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदनकुमार कँडेलले सूचना प्रकाशन गर्दै स्थानीय बिदाको बारेमा जानकारी गराएका थिए।