अर्थ बजार

अण्डाको उचित मूल्य नपाएपछि झापाका व्यवसायीले खाल्डोमा पुरे

By admin

October 13, 2019

दमक। विश्व अण्डा दिवस मनाइरहँदा झापाका अण्डा व्यवसायी भने उचित मूल्य नपाएको भन्दै निराश भएका छन् । कुखुरापालन व्यवसायबाट पलायन भएर वैकल्पिक व्यवसाय रोज्नुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् । नेपाल अण्डा उत्पादक सङ्घ प्रदेश १ का अध्यक्ष एवं अण्डा उत्पादक किसान माधव पराजुलीका अनुसार अहिले अण्डा व्यवसाय गम्भीर सङ्कटमा पुगेका छ ।

उहाँका फार्मबाट मात्र दैनिक १० हजार अण्डा उत्पादन हुने गरेको छ । करिब ६० प्रतिशत स्थानीय बजारमा खपत हुने भए पनि बाँकी अण्डाको बजार समस्या रहेको छ । झापाको दमकमा मात्र दैनिक सरदरमा एक लाख ७५ वटा अण्डा उत्पादन हुँदै आएको उहाँको भनाइ छ । उहाँले प्रदेशमा १ मा सबैभन्दा बढी अण्डा उत्पादन हुने दमकमा नै भएकोे बताउनुभयो ।

उहाँका अनुसार प्रदेश १ मा अहिले दैनिक पाँच लाख अण्डा उत्पादन हुँदै आएको छ । अण्डामा प्रदेश आत्मनिर्भर रहेको छ र उत्पादन बढी भएका कारण बजार मूल्यमा समेत एकरूपता छैन । अण्डा उत्पादनका लागि प्रदेशमा करिब तीन अर्बको लगानी रहेको छ ।

लागत मूल्य पनि पाइँदैन

अण्डा बढी उत्पादन भएका कारण अण्डाले लागत मूल्य पनि नपाएको पराजुलीको भनाइ छ । एक कार्टुन अण्डा सरदरमा एक हजार पाँच सय रुपियाँमा बिक्री हुँदै आएको भए पनि प्रतिगोटा सातदेखि आठ रुपियाँभन्दा बढी अण्डाको मूल्य नपाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अण्डा उत्पादनमा लागत मूल्य नौ रुपियाँभन्दा बढी छ । तर, बिक्री मूल्य सात रुपियाँको हाराहारीमा रहेकाले हामी सङ्कटमा परेका छौँ ।’

उहाँले आफूहरूले सात रुपियाँमा बिक्री गरेको अण्डा बाहिर १२ देखि १५ रुपियाँमा बिक्री हुने गरेको पनि बताउनुभयो । उत्पादितमध्ये ४० प्रतिशत अण्डाले बजार पाउन नसकिरहेकाले बजार खोज्न सरकारले सहयोग गर्नुपर्ने उहाँको माग छ ।

एक करोड अण्डा गाड्नु प¥यो नेपाल अण्डा उत्पादक सङ्घ झापाका अध्यक्ष मनोज बुढाथोकीले भदौमा मात्र झापामा एक करोड पाँच लाख रुपियाँभन्दा बढीको सात हजार कार्टुन अण्डा बिग्रेका कारण गाड्नु परेको गुनासो गर्नुभयो । वर्षासहितको गर्मीको समयमा अण्डा १५ दिनभन्दा बढी भण्डारण गर्न नसक्ने भएकाले यो अवस्था आएको उहाँको भनाइ छ । करिब एक वर्षअघिदेखि यस्तो समस्या आइलागेको उहाँले जनाउनुभयो ।

बैङ्कको ब्याज तिर्न चिन्ता अण्डाको उत्पादनअनुसार बजार नपाएको कारण व्यवसायीलाई बैङ्क ब्याज तिर्न नै मुस्किल परेको अण्डा उत्पादक किसान भरत चम्लागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैङ्कको ब्याज तिर्ने दिन आइसक्यो तर अण्डा गोदाममा थन्किएकाले कसरी तिर्ने भनेर चिन्ता छ ।’

दमककै अर्का किसान देवराज अधिकारीले पनि यस्तै अवस्था रहे ऋणले व्यवसायीलाई डुबाउने गुनासो गर्नुहुन्छ । अण्डा उत्पादनका लागि तीन हजारभन्दा बढी लेयर्स कुखुरा पाल्दै आउनुभएका उहाँले अहिले कुखुरा घटाउन लागेको बताउनुभयो ।

बजारको खोजी व्यवसायीले सरकारसँग आफूहरूलाई अनुदानभन्दा पनि अण्डाको उपभोगबारे सचेतना जोगाउन विभिन्न कार्यक्रम ल्याइदियोस् भन्ने माग गरेका छन् । प्रदेश अध्यक्ष पराजुलीका अनुसार अहिले पनि नेपालमा ३३ प्रतिशतले मात्र अण्डा उपभोग गर्ने गरेका छन् । यो सङ्ख्या बढाउन सकेमा मात्र पनि आफूहरूलाई राहत मिल्ने उहाँको भनाइ छ ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारले यस विषयमा ध्यान नदिएको पनि अण्डा उत्पादक किसानहरूको भनाइ छ ।