झापा । मुजा परेको अनुहार । आधाउधी शिरमा फुलेको कपाल । एकाबिहानै तन्नेरीको जोशमा घरबाट निष्कन्छन् उनी । पद, पैसा र प्रसिद्धीलाई धेरै टाढा छाडेर उनी रमाइरहेका छन् भलिबल कोर्टमा । जहाँ उनको संरक्षकत्व र अभिभावकत्वमा कलिला नानीबाबुहरु खेलकौशल सिकिरहेका हुन्छन् ।
उमेरले सत्तरी बसन्त पार गरिसकेका झापाको मेचीनगरस्थित धुलाबारीका गणेशविक्रम नेम्वाङसँग बुढ्यौली उमेरमा पनि युवाको जस्तै जोश छ । भलिबल खेलाडीको खोजीमा गाउँघर चहार्ने, उनीहरुलाई प्रशिक्षण प्रदान गर्ने र विभिन्न प्रतियोगितामा सहभागी गराउँदै तिनको प्रतिभा तिखार्न सघाउने उनको दैनिकी डेढ दशकदेखि उत्तिकै रफ्तारमा छ ।
उनीहरु रमाए उनको मुहार खुसीले उज्यालिएको हुन्छ । उनीहरुको जीतमा उनको छाती गर्वले ढक्क फुल्छ । जब उनीहरु हारले विचलित हुन खोज्छन्, त्यसबेला हौसलाको पुञ्ज बनेर कलिला नानीहरुका अघि उनी ठिंग उभिन्छन् । हुर्कौलो उमेरका खेलाडी बलियो अभिभावकीय छहारी पाउँदा आत्मविश्वासी बन्दै गएका छन् ।
विसं २००५ सालमा पाँचथरमा जन्मिएका नेम्वाङलाई भलिबलप्रतिको मोह गाउँको साँघुरो फाँटमा उफ्रिँदैदेखि सुरु भयो । जब पढाईका सिलसिलामा उनी दार्जिलिङ पुगे, त्यहाँ उनले आफूलाई अब्बल भलिबल खेलाडीका रुपमा स्थापित गरे । फर्केर घर आएपछि पनि उनको भलिबल मोह छुटेन, अझ कसिलो भयो । त्यसैले तत्कालीन मेची अञ्चल टिमको कप्तानी गरेर विभिन्न प्रतियोगिताहरुमा सहभागिता जनाउन थाले । त्यसपछि पाँचथरबाट झापा झरेका नेम्वाङ भलिबल खेलाडी खोज्ने, सिकाउने र उनीहरुको भविष्य बनाउन सघाउने काममा आज पर्यन्त लागिरहेका छन् ।
अहिले पनि धुलाबारी र आसपासका क्षेत्रमा एउटा किस्सा चर्चित छ ‘छोराछोरी’ अलि अग्लो देख्यो कि अन्तरे काकाले भलिबल खेलाडी बनाइहाल्छन् । त्यसैले ‘अन्तरे काका’ अर्थात गणेशविक्रम नेम्वाङलाई झापा मेचीनगरका धेरै खेलकुदप्रेमीले भलिबल खेलाडी उत्पादन गर्ने ‘फ्याक्ट्री’ भनेर चिन्दछन् । उनकै संरक्षकत्वमा भलिबल सिकेका खेलाडीहरु कोही राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने भएका छन्, कोही नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको विभागीय टोलीबाट खेल्छन् ।
विद्यालयस्तरमा उनले प्रशिक्षण दिएको भलिबल टिमले कहिल्यै दोस्रो हुनु परेको छैन । मेचीनगरको धुलाबारी माविले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रत्येक वर्ष प्रथम स्थान हासिल गर्दै आएको छ भने धेरैजसो उनकै खेलाडी प्रदेश १ को टिममा पर्ने गरेका छन् । आर्थिकरुपले सम्पन्न परिवारका सन्तान उनले चाहँदा जीवनको उत्तराद्र्धको यो बेला आरामको जिन्दगी जिउने सामथ्र्य राख्छन् । देशविदेश शयर गरेर रमाइलो गर्न पनि उनलाई पुग्दो छ ।
तर, खेलकुदलाई जीवनको सहयात्री बनाएका उनलाई अहिले पनि दैनिक चार घण्टाभन्दा बढी खलखली पसिना चुहाउँदै कलिला नानीबाबुहरुलाई भलिबल सीप सिकाउँदैमा फुर्सद छैन । उनीहरुका लागि आवश्यक पर्ने खेल सामग्री, खाजाको जोहो, प्रतियोगितामा सहभागी बन्न चाहिने खर्च आफैँ गर्ने र साथीभाई गुहारेर जुटाउनै धपेडी हुन्छ ।
आफ्ना लागि मात्रै बाँच्ने व्यक्तिवादी बन्दै गएको समाजमा हरेक वर्ष, हरेक महिना, हरेक दिन मात्रै होइन, हर साँझ र बिहान अरुकै लागि, अरुकै सन्तानको भविष्य बनाउन र खासमा देशको भलिबल क्षेत्र बलियो बनाउन निस्वार्थ खटिरहेका छन् । भलिबल मात्रै होइन उनले क्रिकेट खेलको समेत सिप सिकाउछन् । जसको अनवरत सक्रियता र लगावकै कारण कलिला खेलाडीहरुलाई खेलकुदप्रतिको रुची बढाई यस क्षेत्रबाट गौरव गर्न लायक क्षणहरु प्राप्त गर्ने अवस्था सिर्जना गरिदिएका छन् । जसको योगदानको कदर गर्दै नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले हालै उनलाई ‘लाइफटाइम अचिभमेन्ट’ अवार्डबाट सम्मानित समेत ग¥यो ।
पदीय जिम्मेवारी बेगर पाइला पनि नचाल्ने अपसंस्कार हुर्किँदै गइरहेको अवस्थामा राज्यले गर्नुपर्ने काम पदीय आशक्ति त्यागेर उनी एक्लै निरन्तर गरिरहेका छन् । ‘म बाँचुन्जेल मैले जानेको कला सिकाइरहन्छु’, उनी भन्छन् ।