समाज

झापामा पानी पर्दै, फानीको प्रभाव भन्दै सचेत रहन आग्रह

By admin

October 24, 2019

झापा । झापाका विभिन्न भागमा बिहीबार साँझदेखि पानी पर्न सुरु भएको छ । दिनभर इलामका विभिन्न भागमा पानी परेको थियो । बिहान १० बजेतिर झापाका विभिन्न भागमा पानी परेर रोकिएको थियो भने आजको अधिकांश समय मौसममा फेरबदल भइरह्यो ।

बङ्गालको खाडीमा बनेको शक्तिशाली समुद्री आँधी फानीले भारतको ओडिशामा शुक्रवार बिहान प्रहार गर्ने मौसम विज्ञान विभागले जनाएको छ । त्यसकै असरले झापामा पानी पर्न सुरु भएको बताइएको छ । भारतको ओडिशामा समुन्द्र आँधीले प्रहार गर्ने भएपछि झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको समुद्री आँधीले प्रभावित पार्ने ठाँउका झण्डै ८ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिन लागेको अधिकारीहरुले जनाएका छन् ।

यसअघि नै आँधीको प्रभावले ओडिशा क्षेत्रमा वर्षा हुन थालेको थियो । भारतीय मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशा हान्नेछ।

त्यहाँ बिहीवार रातिदेखि विमान उडान र रेलसेवा एवं दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। भारतको आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ।

सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो। भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

सो आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदै गर्दा नेपालमा समेत प्रभाव पर्ने हुँदा नेपालको मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । आँधीका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ भने हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको छ ।