अर्जुन कार्की,
झापा । नेपालमै पहिलो पटक केसरको व्यावसायिक खेती सुरु गरिएको छ । यसअघि नेपालमा केसर खेतीको परीक्षण गरिएको थियो । तर, व्यावसायिक खेतीका रुपमा भने विकास गरिएको थिएन । पूर्वी नेपालको इलाममा केसरको व्यावसायिक खेती सुरु गरिएको छ । इलाम र झापाका उद्यमीहरुको अगुवाईमा इलामको सन्दकपुर-५ जौबारी तथा माई जोगमाई-६ थुम्केमा केसर खेती सुरु गरिएको हो ।

नेपालमा ०१९ सालमा पहिलो टिस्टुङमा केसरको खेती परीक्षणका रुपमा गरिएको थियो । जुम्लामा ०४०, डोल्पामा ०४६ र ललितपुरको गोदावरीमा ०४७ मा समेत यसको परीक्षण खेती गरिएको थियो । तर, यसको व्यावसायिक खेती भने हुन सकेको छैन । नेपालमा वार्षिक कूल सात किलोसम्म केसर उत्पादन हुने गरेको अनुमान गरिएको छ ।

जौबारी मल्टिपरपोज एग्रीकल्चर एन्ड इन्भाइरोेमेन्ट सेन्टर प्रालि इलामको ६९ रोपनी जग्गा मध्ये जौबारीमा ८ रोपनी जग्गामा केसर खेती गरिएको छ । औषधि र खानेकुरामा प्रयोग हुने केसर सुगन्धित छ । यसको बजार मूल्यप्रति किलो १० लाख रुपैयाँसम्म पर्ने प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले बताए । कटुवाल झापा मेचीनगर-७ इटाभट्टा निवासी हुन् ।

भारतको कस्मिरस्थित श्रीनगरबाट बीउ गाना ल्याएर गत असोजमा रोपिएको केसरका बोटहरु यतिबेला फुल्न थालिसकेका छन् । खेतभरि केसरको फूलको पराग टिपेर त्यसबाट केसर उत्पादन हुने गरेको छ । केसरको पराग टिप्ने क्रम जारी रहेको कटुवालले जानकारी दिए । करिव डेढलाख फुलको पराग सङ्कलन गर्दा एक किलो केसर उत्पादन हुने उनले बताए ।

इलाममा केसर खेती फस्टाउँछ कि फस्टाउँदैन भनी गत वर्षदेखि इलाममा यसको परीक्षण भइरहेको छ । गतवर्ष इलामकै माई जोगमाई-६ स्थित थुम्केमा करीब ८ रोपनी जग्गामा यसको परीक्षण खेती गरिएको छ ।

अल्जाइमर्स, गर्भवती महिला र डिप्रेसनका बिरामीलाई यसबाट बनेको औषधि खुवाइने गरिएको प्रालिका उपाध्यक्ष झापा मेचीनगर-६ स्थित काँकरभिट्टाका शङ्कर भट्टराईले बताए । भट्टराईका अनुसार हिउँ र तुषारो पर्ने चिसो भूभागमा मात्र यसको खेती हुन्छ । समुद्र सतहबाट २ हजार मिटरभन्दा माथिको उचाइमा यसको खेती हुन्छ । राती दश डिग्री सेल्सियसभन्दा कम र दिउँसो दशदेखि बीस डिग्री सेल्सियस तापक्रम भएको चिसो भूभागमा यसको खेती मौलाउने उपाध्यक्ष भट्टराईले जानकारी दिए ।

जौबारी र थुम्के क्षेत्र पनि २४ सय मिटर माथि भएकाले यस खेतीका लागि सुहाउँदो माटो भएकोले केसरको खेती गर्न थालिएको प्रालिका सचिव टेन्डु शेर्पाले बताए । इरान र भारतको कास्मिरको श्रीनगरमा उत्पादन गरेको केसर खेती हेरर सोही विधी अनुसार यसको खेती सुरु गरिएको उनले सुनाए ।

अम्लिसो, अदुवा, ओलन, अकबरे लगायतका कृषि बाली तथा दुर्लभ प्रजातिको वन्यजन्तु रेडपाण्डा रहेको प्रसिद्ध इलाम अब केसर खेतीका कारणसमेत चिनिने भएको छ । केसर खेतीको परीक्षण सफल भएकोले यसलाई अब व्यावसायिक रुपमा अगाडि बढाइने सचिव शेर्पाले जानकारी दिए । प्रालिको कोषाध्यक्षमा चित्र राजवंशी तथा सदस्यहरुमा मीना कटुवाल र फुडुमा शेर्पा छन् ।

केसर खेती रहेको ठाउँ प्रसिद्ध सन्दकपुर पर्यटकीय क्षेत्र नजिक रहेको छ । यसबाट सन्दकपुर र केसर खेतीको पर्यटनसँगै अघि बढाउन सकिने सम्भावना देखिएको सञ्चालकहरुको भनाई छ । केसर खेती भएको स्थानलाई पर्यटकीय गन्तव्य बनाउन ‘टुलिप गार्डेन’ को योजनासमेत अघि सारिएको छ । टुलिप एक प्रकारको मनमोहक फूल हो, जसको एक थुँगाको मूल्य ५ सयभन्दा बढी पर्छ ।

त्यस्तै, प्रालिले भारतको कास्मिरबाट उन्नत जातका स्याउँ र नासपातीको बिरुवा ल्याएर उक्त क्षेत्रमा रोप्न सुरु गरेको छ । ठाउँ सुहाउँदो माटोको कारण स्याउँ र नासपाती पनि राम्रोसँग फल्ने भएकाले यसको विरुवा पनि उतैबाट मगाइएको अध्यक्ष कटुवालले बताए ।

माई जोगमाई गाउँपालिकामा केसर खेतीको विस्तार भएकोमा गाउँलेहरु उत्साहित भएका छन् । माइ जोगमाई गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले जौबारी र थुम्केमा केसर खेतीको उत्पादन हुन थालेकोमा खुशी भएको बताए  । ६ वटा वडा रहेको माई जोगमाई गाउँपालिकाको जनसङ्ख्या साढे २१ हजार छ ।

प्रायः सबै वडामा सडक, बिजुली र पानीको राम्रो प्रबन्ध रहेको अध्यक्ष राईले जानकारी दिए । शिक्षा र स्वास्थ्य भने अलिक कमजोर रहेको यस क्षेत्रका जनता भारतसँग सीमा जोडिएका मानेभङ्ज्याङ नजिकका बजार धाउने गरेका छन् ।

उनले केसर खेती हाम्रो मुख्य आम्दानीको श्रोत हुने दाबी गरे । यसलाई टिकाउन पनि हामीले यस पेशामा लागेका किसानलाई अनुदान दिने अध्यक्ष राईले बताए । केसर खेती वहुमुल्य खेती भएकाले पनि यस खेतीले पर्यटन प्रबर्धनसँगै इलामलाई समृद्धितर्फ अगाडि बढाउने कुरामा विश्वस्त छन् अध्यक्ष राई । विदेशीले स्याफरोन भनेर चिनेने केसर खेती हेर्नका लागि आन्तरिक तथा बाह्रय पर्यटक अहिले उक्त ठाउँमा घुइँचो लाग्न थालेको छ ।

‘केसर खेती भएका स्थानमा होमस्टेहरु निर्माण गरी पर्यटकलाई बास बसाउने र त्यहाँको जैविक उत्पादनको स्वादसँगैै प्राकृतिक सौन्दर्यको आनन्द लिन आकर्षित गर्ने हाम्रो सोच छ’, झापा ट्राभल्स सङ्घका पूर्व अध्यक्षसमेत भइसकेका पर्यटन व्यवसायी भट्टराई भन्छन्, ‘नेपालमा नौलो भएको हुँदा केसर खेती आफैँमा अध्ययन र भ्रमणका लागि जौबारी र थुम्के क्षेत्र मुख्य केन्द्र हो ।’

नेपालबाट भारत जाने पहिलाको मुख्य सडक मानेभङज्याङ नाका थियो । त्यतिखेर इलामबाट मानेभङ्ज्याङ बाटो हुँदै भारत हिँडेर जाने गरेका थिए । २०११ सालमा नै भारतकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले उक्त बाटो बनाएर बस कुदाउने इच्छा जाहेर गरेको अध्यक्ष राईले सुनाए ।

‘माई जोगमाई गाउँपालिकाको नयाँ बजारबाट जौबारी पुग्न पहिला ५ घण्टा लाग्थ्यो’, अध्यक्ष राईले भने, ‘उक्त बाटो अब ३५ मिनेटमा पुगिन्छ । इन्दिरा गान्धीको सपना अब मैले पूरा गर्ने अभिभारा लिएको छु ।’ लोकतन्त्र पोष्टबाट