समाज

हात्तीलाई थापेको विद्युतीय धरापमा परी बुद्धशान्तिमा दुई जनाको मृत्यु

By admin

November 02, 2019

झापा। बुद्धशान्ति गाउँपालिकामा जंगली हात्तीलाई थापिएको विद्युतीय धराप (इलेक्ट्री फेन्सिङ) मा परी शुक्रबार राति दुई जनाको मृत्यु भएको छ ।

बुद्धशान्ति गाउँपालिका ४ स्थित नवज्योति सामुदायिक वन समूहको कार्यालय छेउमा माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो । रातिको समयमा वन कार्यालय छेउमा रहेको सानो खोल्सी खुकुरीले माछा मार्ने क्रममा स्थानीय १८ वर्षीय अभिनाश राई र अन्दाजी ३५ वर्षीय मनिराम राईको मृत्यु भएको बताइएको छ । मनिराम पाहुनाका रुपमा अभिनाशको घरमा आएका हुन् । साइनोले उनीहरु मामा भान्जा हुन् ।

उनीहरुको माछा मार्ने क्रममा हात्तीलाई लगाएको तारबाट करेन्ट सप्लाई भएर मृत्यु भएको उनका दाइ पेरिसकुमार राईले जानकारी दिए । हात्ती प्रभावित क्षेत्र भएकाले स्थनीयहरुले आफ्नो आफ्नो जग्गामा तार लगाएको र सोही तारबाट करेन्ट सप्लाई भएर उनीहरुको मृत्यु भएता पनि विद्युत् प्रवाहका विषयमा आफूलाई जानकारी नभएकोे नवज्योति सामुदायिक वन समूहका अध्यक्ष मानबहादुर साँवाले बताए ।