समाज

अर्जुनधारामा महिला हिंसाविरुद्धको १६ दिने अभियान

By admin

November 26, 2019

अर्जुनधारा । ‘समानताको पुस्ता : बलात्कारविरुद्धको ऐक्यवद्धता’ भन्ने नाराका साथ अर्जुनधारामा महिला हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । महिला हिंसाविरुद्ध प्रतिवद्ध छु भन्ने अभिव्यक्तिसहितको व्यानरमा हस्ताक्षर गर्दै अभियानको शुभारम्भ गरिएको हो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र मानवअधिकार समूह अर्जुनधाराको संयुक्त आयोजनामा भएको कार्यक्रमको उद्घाटन नगर उपप्रमुख कमला आचार्यले हस्ताक्षर गर्दै गरेकी थिइन् ।

उपप्रमुख आचार्यले हिंसा विभिन्न प्रकारले हुने बताउँदै हिंसा पुरुषबाट नभइ महिलाबाट महिला नै हिंसाको शिकार हुँदै आएको पनि बताइन् । उनले श्रमिक महिला पुरुषलाई असमान ज्याला दिनु पनि हिंसाको एउटा पाटो भएको बताइन् ।

कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालबाट पनि महिलामा हिंसा बढिरहेको बताउँदै अन्धविश्वास, कुरिती, कुसंस्कारले हिंसालाई बढावा दिन सहयोग पुगेको बताइन् । उनले यस्ता घटनालाई रोक्न गाउँगाउँमा चेतना छर्नुपर्ने बताइन् ।

उनले वौद्धिक क्षेत्रमा पनि महिलाहरु हिंसामा पर्नुपरेको बताउँदै यस्तो स्थितिबाट निस्कनका लागि नगरमात्र नभई सबै लाग्नु पर्नेमा जोड दिइन् ।

लैङ्गिक हिंसा र दुव्र्यवहार : छैन हामीलाई स्वीकार, महिलाविरुद्ध हुने सम्पूर्ण हिंसा अन्त्य गर, नारी अस्मिताको रक्षा गर, समान सहभागिताको सुनिश्चिता आजको आवश्यकता भन्ने नारा उल्लेखित प्लेकार्डसहित नगर परिक्रमा गर्दै सुरु गरिएको कार्यक्रममा महिला तथा बालबालिका शाखाका सुमित मगर, फोनिज प्रदेश नं. १ का इन्चार्ज दिपिन राई, ज्येष्ठ नागरिक मिलन समाजका सचिव नरेन्द्र तिम्सिना, महिला नेतृ पम्फा विश्वकर्मा, इन्सेक जिल्ला प्रतिनिधि नरेश खाती, सहजकर्ता राजन राई लगायतको सहभागिता रहेको थियो ।

मानवअधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सदस्य सुशिला गिरीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव विष्णु आचार्यले गरेका थिए ।