खेलकुद

९ स्वर्णसहित त्रिदेशीय करातेमा नेपाल प्रथम

By admin

December 22, 2019

अर्जुनधारा । आठ स्वर्णसहित ४२ वटा पदक ल्याएर झापाको अर्जुनधारा–९ स्थित बाह्रघरेमा आयोजित त्रिदेशीय अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितामा नेपाल प्रथम भएको छ ।

बाह्रघरे कराते डोजोको आयोजनामा भएको प्रतियोगितामा ९ वटा स्वर्ण, १३ वटा रजत र २० वटा कास्यसहित ४२ वटा पदक नेपालले प्राप्त गरेको हो ।

४ स्वर्ण पदक प्राप्त गरेको भुटान र १ स्वर्ण, १ रजत र ८ कास्यसहित १० वटा पदक प्राप्त गरेको भारत दोस्रो र तेस्रो भएका छन् । नेपालको लागि कुमुतेतर्फ पुरुष ४० केजीमा दमकका ओस्करमान श्रेष्ठ, ४५ केजीमा बाराका अफरोज आलम, ५५ केजीमा पर्साका राम केसरी र ६७ केजीमा बिर्तामोडका अभिषेक राजवंशीले स्वर्ण पदक प्राप्त गरेका थिए ।

त्यस्तै कुमुतेतर्फ महिला ४५ केजीमा अर्जुनधाराकी रीता मुर्मु, ५० केजीमा दमककी श्रद्धा मगर, ५५ केजीमा आयोजक बाह्रघरेकी प्रकृती दुम्जन तामाङ र ६८ केजीमा अर्जुनधाराकी आयुषा राईले स्वर्ण पदक प्राप्त गरेका थिए ।

त्यसैगरी महिला कातातर्फ शिवसताक्षीकी सञ्जिवनी कार्कीले स्वर्ण पदक प्राप्त गरेकी थिइन् । प्रतियोगितामा द्धितीय हुने भुटानको लागि कुमुतेतर्फ पुरुष ६० केजीमा लियो गुरुङ, महिला ४० केजीमा प्रनिशा नेपाल, ६१ केजीमा दिपा तामाङ र पुरुष कातातर्फ लियो गुरुङले स्वर्ण पदक प्राप्त गरेका थिए । भारतको लागि एक मात्र स्वर्ण पदक कुमुतेतर्फ पुरुष ५० केजीमा सञ्जोग थापाले प्राप्त गरेका थिए ।

प्रतियोगिताको उत्कृष्ट पुरुष फाइटर बिर्तामोडका अभिषेक राजवंशी र उत्कृष्ट महिला फाइटर आयोजक बा¥हघरेकी प्रकृती दुम्जन तामाङ भएको रेफ्री संयोजक कुमार उप्रेतीले बताए ।

प्रतियोगिता आयोजक समितिका संयोजक नारदमणी नेपालको अध्यक्षतामा आयोजित कार्यक्रममा विजेता खेलाडीहरुलाई प्रमुख अतिथि प्रदेश १का सांसद् वृख प्रधान, नगर खेलकुद विकास समितिका अध्यक्ष अर्जुन मेचे, साउथ एसियन कराते रेफ्रीका कमिसन मेम्बर वीसन मोते, नेपाल कराते महासंघका प्रमुख प्रशिक्षक मदनकुमार उप्रेती, एकेएफ रेफ्री तथा इलामका कराते प्रशिक्षक योगेश चाम्लिङ, पाँचथर कराते संघका अध्यक्ष बाबा मेन्याङबो, प्रतियोगिताका रेफ्री संयोजक उप्रेती, आयोजक समितिका संयोजक नेपाल, डोजो प्रमुख प्रशिक्षक लगायतले पदक तथा प्रमाण पत्र प्रदान गरेका थिए ।

आयोजक डोजोका कोषाध्यक्ष सीताराम थापाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन बिर्तामोड नगर खेलकुद विकास समितिका उपाध्यक्ष दुर्गाराज निरौलाले गरेका थिए ।