शिक्षा

भानु माविका उत्कृष्ट विद्यार्थी पुरस्कृत

By admin

January 03, 2020

अर्जुनधारा । झापको अर्जुनधारा-५ मा रहेको भानु माध्यमिक विद्यालयको ६०औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्दै विद्यालयले आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो ।

देवी तुलसा शिक्षा स्मृति पुरस्कारबाट २०७५ सालको एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र सन्दिप कट्टेल र छात्रा निशा विष्टलाई नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यस्तैगरी पुरुषोत्तम शिक्षा स्मृति पुरस्कारबाट कक्षा ११ मा उत्कृष्ट अंक ल्याउने ओमप्रकाश विश्वकर्मालाई नगदसहित सम्मान गरिएको शिक्षक देवीप्रसाद गौतमले जानकारी दिए ।

कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । त्यस्तै धनमाया खनाल शिक्षा स्मृति प्रतिष्ठान पुरस्कारबाट कक्षा ९ मा उत्कृष्ट अंक ल्याउने पूजा मैनाली, लालबहादुर जसोदा चौहान शिक्षा स्मृति पुरस्कारबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने एटम लिङदेन र अर्पणा धिमाललाई नगरप्रमुख रानाले सम्मान तथा पुरस्कृत गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारती, शिक्षक अभिभावक संघका संयोजक अडिमदन बुढाथोकी लगायतको आतिथ्यता रहेको थियो ।