समाज

ठेक्का नलागेको खोलाबाट उत्खनन् !

By admin

January 04, 2020

अर्जुन राजवंशी, बिर्तामोड । पटकपटक सूचना प्रकाशित गर्दा पनि अर्जुनधारा नगरपालिकास्थित बिरिङ र टाङटिङ खोलामा नदीजन्य सामग्री उत्खनन् तथा संकलनबारे ठेक्का लाग्न सकेको छैन । ठूलो आन्तरिक आय संकलन हुने खोलाहरूमा ठेक्का नलाग्दा नगरपालिकाका जनप्रतिनिधि चिन्तित छन् ।

तर, दुवै खोलाबाट नदीजन्य सामग्री उत्खनन् तथा संकलन भने धमाधम भइरहेको छ । खोला ठेक्का नलागे पनि दैनिक सयौंको संख्यामा ट्र्याक्टर तथा टिपरले नदीजन्य सामग्री ओसारिरहेका छन् ।

असारदेखि भदौ मसान्तसम्म खोलामा उत्खनन् बन्द थियो । असोज लागेसँगै सुरु भएको हो । उत्खनन् सुरु भएको तीन महिना नाघिसकेको छ । तर, नगरपालिकाले ठेक्का आह्वान गर्दा पनि लाग्न सकिरहेको छैन । ‘दुई पटक सूचना निकालिसक्यौं । कसैले ठेक्का भरेन । अहिले तेस्रो पटक सूचना प्रकाशित गरेका छौं,’ अर्जुनधाराका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेलले भने । उनका अनुसार मंसिर ४ गते पहिलो तथा मंसिर २२ गते दोस्रो पटक ठेक्का सूचना प्रकाशन गरिएको थियो । दुवै पटक कुनै फर्म तथा कम्पनीले ठेक्का नभरेपछि पुस १३ गते तेस्रो पटक सूचना प्रकाशन गरेको भुर्तेलले जानकारी दिए ।

बिरिङ र टाङटिङ खोलाबाट नदीजन्य सामग्री उत्खनन् तथा संकलनका लागि नगरपालिकाले ४ करोड १८ लाख ९२ हजार रुपैयाँको ठेक्का आह्वान गरेको छ ।

स्थानीयको अवरोधले खोलाको ठेक्का लाग्न नसकिरहेको नगरपालिकाको आरोप छ । नगरका अनुसार स्थानीय आफैले खोला ठेक्कामा लगाएका छन् । खोला निजी जमिन भएर बगेको स्थानीयको दाबी छ । उनीहरूले आआफ्नो दाबी गरिएको जमिन क्षेत्रमा नदीजन्य सामग्री उत्खनन् तथा संकलन गरिरहेका छन् ।

स्थानीयले क्रसर तथा निर्माण कम्पनीहरूलाई दैनिक सयौं ट्र्याक्टर तथा टिपर नदीजन्य सामग्री विक्री गरिरहेको नगरपालिकाका मेयर हरि रानाले बताए ।

स्थानीय ३३ घरपरिवारको करीब ६० बिघा जग्गामा खोला बगिरहेको इन्द्र सिवाकोटीले दाबी गरे । २०३५ सालतिर धार परिवर्तन गरेपछि खोला अहिले निजी जमिन भएर बगिरहेको उनले बताए । ‘हामी खोलाबाट पीडित छौं । हाम्रो जमिन जोगाउन नगरपालिकाले अहिलेसम्म कुनै पहल गरेन । उल्टै हाम्रो नम्बरी जमिनमा नगरपालिकालाई खोला उत्खनन् गर्न दिनु रु’ उनले भने ।

स्थानीय आफैले खोला ठेक्कामा लगाएको कुरा गलत भएको उनले बताए । ‘कसैले पनि खोला ठेक्कामा लगाएको छैन ।आआफ्नो जमिनमा बालुवा धेरै थुप्रिएकोले च्यानल खन्ने काम मात्र गरेका हौं,’ सिवाकोटीले भने ।

स्रोतका अनुसार स्थानीयले आआफ्नो जमिन क्षेत्रमा मेसिन लगाएरै खोला उत्खनन गरिरहेका छन् । उनीहरूले प्रतिटिपर ६ सय रुपैयाँमा नदीजन्य सामग्री विक्री गरिरहेका छन् । ‘टिपर भर्न जेसीबी लगाइएको छ । जेसीबीले प्रतिटिपर ३ सय रुपैयाँ पाउँछ,’ एक स्थानीयले नाम नबताउने शर्तमा भने, ‘जग्गाधनीसँग कुरा मिलाउने बिचौलियाले प्रतिटिपर २ हजार रुपैयाँ पाउँछन् ।’

स्थानीयले नम्बरी जमिनमा खोला बग्यो भनेर उत्खनन गर्ने हो भने खानी दर्ता गरेर कानूनीरुपमा अघि बढ्नुपर्ने मेयर रानाले बताए । ‘होइन भने हामीले कानूनअनुसार कारबाही गर्नुको विकल्प छैन,’ उनले भने । नगरपालिकाले गत वर्ष दुवै खोला २ करोड ५० लाख रुपैयाँमा ठेक्का लगाएको थियो ।

गत वर्ष पनि स्थानीयले खोला उत्खनन गर्न बाधा पुर्‍याएका थिए । स्थानीयको अवरोधले ठेक्का रकम बराबरको नदीजन्य सामग्री निकाल्न नपाएको भन्दै नगरपालिका र ठेकेदारबीच विवाद भएको थियो । उक्त विवादका कारण यस वर्ष ठेकेदार कम्पनीहरूले ठेक्का नहालेको स्थानीयको भनाइ छ । कान्तिपुर दैनिकबाट