अर्थ बजार

सुनको भाउ ७६ हजार, किन्नेभन्दा बेच्ने बढी

By admin

January 06, 2020

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ ।

अमेरिका र इरानबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेको र यसको असर नेपाली बजारमा परेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

प्रतितोला फाइन गुणस्तरको सुनको मूल्य ७६ हजार रुपैयाँ पुगेको हो। महासंघका अनुसार एक वर्ष यता सुनको मूल्य प्रतितोला १६ हजार २ सय रुपैयाँ बढेको छ।

२०७५ पुस २२ गते मूल्य प्रतितोला ५९ हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य २०७६ माघ ९ गते नयाँ रेकर्ड कायम गर्दै ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो।

महसचिव बज्राचार्य सुनको मूल्य बढ्नुको मूख्य कारण अमेरिका र इरानबीचको युद्ध भएको बताउछन्। उनले चीन र अमेरिकाबीचको व्यापारका विषयमा गत डिसेम्बरमा भएको सम्झौता कर्यान्वयनमा आउन नसक्दा पनि चिनियाँ लगानीकर्ताले सबैभन्दा बढी सुनमा लगानी बढाएका बताए।

विश्व बजारमा सुनको माग अझै बढ्न सक्ने भएकाले फेरिपनि नयाँ रेकर्ड कायम हुन सक्ने सम्भावना रहेको बज्राचार्यले बताए। मूल्य बढेसँगै बजारमा खरिद गर्ने भन्दा विक्री गर्न आउनेहरुको भिड लागेको छ।

सोमबार वालस्ट्रेट मार्केटमा सुनको मूल्य प्रति आउन्स १ हजार ५ सय ७७ डलर पुगेको छ। एक महिना अघि प्रति आउन्स सुनको मूल्य १ हजार ४ सय ६५ डलर रहेको थियो।