शिक्षा शाखाले बेवास्ता गरेको गुनासो
अर्जुनधारा । शनिश्चरे माविकी छात्रा डोल्मा शेर्पाले आफू पढ्ने विद्यालयको कक्षाकोठामा भएको झ्यालमा पल्ला नहुँदा चिसो छेक्न किताब झुण्ड्याउनुपर्ने पीडा पोखिन् ।
शिक्षासँग सरोेकार राख्ने सबै निकाय, अभिभावक, शिक्षकलगायतको उपस्थितिमा उनले पुसको जाडो छेल्न गरिने बाध्यता सुनाइरहँदा कार्यक्रममा सहभागी सबै मौन भए ।
‘झ्यालमा मात्र होइन, कक्षाको ढोका नि छैन’, उनले भनिन्, ‘यो जाडोमा चिसो छल्न गाह्रो भएको छ ।’ अझ कतिपय विद्यार्थीसँग न्यानो कपडा नहुँदा थप समस्या भएको उनले सुनाइन् ।
उनीहरुले चिसो ठिही छल्नका लागि झ्यालमा भएको फलामे रडमा किताबले छेल्ने गरेका छन् । यस्तो समस्या सबै कक्षाकोठामा भएको उनको भनाइ छ ।
इन्सेकको सहयोगमा मानवअधिकार समूह अर्जुनधाराले बुधबार शनिश्चरेमा आयोजना गरेको शिक्षाको अधिकारसम्बन्धी शिक्षक, अभिभावक, विद्यार्थी र सरोकारवालासँग अन्तरक्रिया कार्यक्रममा बोल्दै कक्षा ९ कि विद्यार्थी डोल्माले आफ्ना भनाइ राख्दा सहभागी सबैले प्रशंसास्वरुप ताली बजाएका थिए ।
विद्यालयको समस्या राख्ने क्रममा छात्राका लागि दुई वटा शौचालय भए पनि छात्रका लागि नभएको पनि सुनाइन् । बाल क्लबकी अध्यक्षसमेत रहेकी उनलाई छात्रहरुले शौचालयकाको व्यवस्थाका लागि पहल गरिदिन अनुरोध गर्ने गरेको पनि सुनाइन् ।
त्यस्तै, गणेश आधारभूत विद्यालयमा अध्ययनरत दिव्य पौडेलले विज्ञान विषयको पढाइ भए पनि ल्याव नहुँदा व्यावहारिक ज्ञान मिल्न नसकेको पीडा सुनाए । कम्प्युटर विषयको पढाइ भए पनि अंग्रेजी माध्यमबाट पढाइँदा बुझ्न नसकेको गुनासो गरे ।
अतिरिक्त क्रियाकलापमा भलिबलबाहेक केही हुन नसकेको भन्दै उनले खेलकुद र वाद्यवादनको अभाव रहेको सुनाए । उनले कोचिङ व्यवस्था गरिदिन पनि आग्रह गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष तथा जिल्ला शिक्षा समितिका अध्यक्ष सोमनाथ पोर्तेलले विद्यार्थीका गुनासा सुनेपछि शैक्षिक अधिकार स्थानीय तहले पाएकाले अधिकारभित्र काम किन भएनन् ? भनेर उल्टै जिज्ञासा राखे ।
शैक्षिक गुणस्तरलाई पूर्वाधारसँग दाँजेका कारण पनि भने र सोचेजस्तो प्रगति हुन नसकेको उनको भनाइ थियो । उनले शिक्षा ऐन बनाएर लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले नगरको शैक्षिक गुणस्तरका लागि गरिएको कार्यक्रमप्रति खुसी व्यक्त गरे । नगरपालिका र शिक्षा शाखालाई खबरदारी गर्न आग्रह गर्दै उनले एक हजार थान न्यानो टोपी र स्वीटर विद्यालय क्षेत्रमा वितरण गर्न लागेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै शिक्षा शाखाकी प्रतिनिधि जानुका गुरागाईंले निजी विद्यालयलाई हेरेर सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तरको चाङ लाग्ने गरेको सुनाइन् ।
शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय तहमा शिक्षा ऐन नबनेको, बनेको कार्यविधि पनि संघीय ऐनसँग बाझिएकाले पनि समस्या ज्यूँका त्यूँ रहेको बताउँदै उनले शैक्षिक जनशक्तिलाई खुसी पार्नसके गुणस्तरीय शिक्षा हुने दाबी गरिन् । ‘विषयगत अंकमा भन्दा व्यावहारिक जीवनमा आएको परिवर्तन गुणस्तरको मापन हो’, उनले भनिन् ।
समूहका अध्यक्ष चन्द्र सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको औचित्य नगर संयोजक राजन साम्पाङले प्रष्ट पारेका थिए । सदस्य सोना गेलालले स्वागत गरेको कार्यक्रममा इन्सेक झापा प्रतिनिधि नरेश खाती, शनिश्चरे माविका प्रअ सिएम खनाल, पूर्व प्रअ सरस्वती सिटौला, भानु माविका प्रअ रुपक दाहाललगायतले शिक्षाको गुणस्तर, समस्या र वर्तमान अवस्थाको बारेमा आफ्ना धारणा राखेका थिए ।
शिक्षा शाखाले बेवास्ता गरेको गुनासो यसैबीच, मानव अधिकार समूह अर्जुनधाराले आफूहरुको कार्यक्रमलाई नगर शिक्षा शाखाले बेवास्ता गरेको गुनासो गरेको छ ।
समूहले आयोजना गरेको नगरको शिक्षासम्बन्धी कार्यक्रममा शाखा प्रमुख तोया रेग्मी उपस्थित नभएर प्रतिनिधि पठाएपछि समूहले बेवास्ता गरेको गुनासो गरेको हो । ‘तोया सर आउने कन्फर्म भएपछि हामीले उहाँलाई पायक पर्नेगरी कार्यक्रम स्थल सारेका थियौँ’, नगर संयोजक राजन साम्पाङले भने ।
उनका अनुसार दोस्रो तलामा आफूु चढ्न नसक्ने बताएपछि शाखा प्रमुख गौतमकै अनुरोधमा भुइँ तला भएको कार्यक्रम स्थल रोजिएको थियो । तर, उनले शिक्षा शाखाकी अधिकृत जानुका गुरागाईलाई कार्यक्रममा पठाएका थिए ।
कार्यक्रममा आएकी अधिकृत गुरागाई पनि आफ्ना भनाइ राखेर शिक्षक, विद्यार्थी, सहभागीको गुनासोको जवाफ नदिइ हिँडेपछि आयोजक रुष्ट बनेको थियो । समूहका अध्यक्ष चन्द्र सुवेदीले शिक्षाजस्तो गम्भीर विषयको अन्तरक्रियामा सहभागीको जवाफ नदिइ हिँड्नु आयोजकमाथिको अपमान भएको पनि बताए ।
इन्सेकका झापा प्रतिनिधि नरेश खातीले पनि सम्बन्धित निकायका प्रतिनिधिले यसरी बेवास्ता गरिँदा नकरात्मक सन्देश जाने भन्दै दुःख व्यक्त गरे ।