समाज

सिद्धबाबालाई पुर्पक्षमा राख्न उच्च अदालत विराटनगरको आदेश

By admin

January 23, 2020

सुनसरी । जिल्ला अदालत सुनसरीले दिएको आदेश बदर गर्दै उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षमा राख्न आदेश दिएको छ ।

उच्च अदालत विराटनगरका एक नम्बर न्यायाधीश प्रेमप्रसाद कार्की र २ नम्बर न्यायाधीश तिलप्रसाद श्रेष्ठको संयुक्त इजालसले गिरीलाई पुर्पक्षमा राख्न आदेश दिएको हो।

गएको असोजमा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीमा पीडित महिलाले मुद्दा दर्ता गर्नुभएको थियो । त्यस मुद्दामा जिल्ला अदालत सुनसरीका मुख्य न्यायाधीश राधकृष्ण उप्रेतीले तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिनुभएको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालत विराटनगरमा निवेदन दिएको थियो । जिल्लाको आदेश चित्त नबुझेको र प्रतिवादीलाई थुनामा राखेर कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्ने भन्दै उच्च अदालत विराटनगरमा अघिल्लो बिहीबार निवेदन दर्ता गरिएको थियो।