समाज

फिक्कलमा पार्कसहितको व्यायामशाला बन्ने

By admin

January 26, 2020

इलाम । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा ३ करोड बढीको लागतमा सार्वजनिक व्यायामशालासहितको पार्क बन्ने भएको छ।

संघीय र स्थानीय सरकारको लागत साझेदारीमा हुने भौतिक निर्माणका लागि ३ करोड १४ लाख बढी लाग्ने अनुमान गरिएको छ। फिक्कलमा रहेको लोपोन्मुख लाप्चा समुदायको पुरातात्वित गुम्बा (फेन्सोङ्ग)को संरक्षण र प्रवद्र्धन गर्न नगरपालिकाले सस्थांको प्रतिनिधिहरूसँग छलफल गरी हस्ताक्षर गरेको छ।

गुम्वाको मर्मत, सम्भार र संशोधन गर्ने कार्य पुरातात्विक विभागको सल्लाह सुझावअनुसार गरिने नगर प्रमुख रणबहादुर राईले बताए। गुम्बादेखि बाहेका झण्डै बाह्र रोपनी जग्गामा सार्वजनिक व्यायामशालासहितको पार्क निर्माण हुनेछ। सो पार्कको संचालनको जिम्मा फेन्सोङ्गलाई दिइनेछ। संरचनाको कार्य दुई चरणमा हुनेछ। यहि माघमा पहिलो चरणको कार्यको टेन्डर आह्वान हुनेछ।

तीन करोडको लागतमा तयारी हुने यस पार्क सुविधा सम्पन्न हुनेछ। सूर्योदय नगरपालिकाको तर्फबाट कायममुकायम प्रमुख प्रशासकीय अधिकृत रूद्र नारायण सापकोटा र फेन्सोङ्ग गुम्बाको तर्फबाट अध्यक्ष प्रेम बहादुर लाप्चाले सम्झौतामा हस्ताक्षर गरेका छन्। नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, कार्यपालिका सदस्य बीर बहादुर लाप्चा, प्रशासकीय अधिकृत श्री सविना चौलागाई, श्री मानवीर लाप्चा लगायतको उपस्थिती रहेको थियो।

सूर्योदय नगरपालिकाले लोपोन्मुख लाप्चा जातिको आस्थाको धरोहर फेन्सोङ गुम्बा क्षेत्रलाई संरक्षण, प्रर्वद्धन गर्ने हेतुले डिपीआर तयार गरि केही दिनमा नै निर्माण कार्य अगाडि बढाइने वडाध्यक्ष पेमा उगेन लामाले बताए।