समाज

विवाहित छोरीहरुले गरे आमाको काजकिरिया

By admin

January 29, 2020

अर्जुनधारा । आमाको निधनपछि माइतीघरमा दशगात्र विधि (काजकिरिया) गर्ने कोही नभएपछि अर्जुनधारामा दुई विवाहित छोरीहरुले अन्तिम संस्कार गरिरहेका छन् ।

छोरासरह अविवाहित छोरीहरुले आमाबुबाको काजकिरिया गरेको घटना सुन्न र देख्नमा आए पनि झापाको अर्जुनधारा–९ स्थित कटहरडाँडामा दुई विवाहित छोरीले आमाको काजकिरिया गरिरहेका छन् । घटनाअनुसार गएको माघ ७ गते ८२ वर्षीया कृष्णमाया कँडेलको निधन भएको थियो ।

तर, सन्तानका रुपमा दुई छोरीहरुमात्र रहेको, उनीहरुको पनि विवाह भइसकेको थियो । काकाका छोराहरु भए पनि घरमै काजकिरिया गर्न नमानेपछि जेठी छोरी पूण्यमाया कँडेल चौधरी ‘पुनम’ र कान्छी छोरी रेनुदेवी कँडेल कटुवालले दशगात्र विधिअनुसार कोरो ढिकुरो बसेर पिण्ड दान गरेका हुन् ।

जहाँ प्राण गयो त्यसै स्थानमा आफ्नै छोरीहरुले काजकिरीया गरोस् भन्ने आमाको इच्छाअनुसार र गोत्र सरेर गएका छोरीहरुले पनि काजकिरीया गर्दा फरक पर्दैन भन्ने मान्यताले आफूहरु काजकिरियामा बसेको कान्छी छोरी रेनुदेवीले बताइन् । ‘घरको सासुससुरा र श्रीमानको सहयोगका कारण आमाको इच्छा पूरा गर्न सफल भएको छु’, उनी भन्छिन् ।

महिला नेतृसमेत रहेकी जेठी छोरी पूण्यमायाले काँइला काकाका छोराहरुले हाम्रो माइतीघरमा काजकिरीया गर्न नमानेपछि आमाको इच्छाअनुसार आफूहरुले कर्मकाण्ड गरेको बताइन् । तीन दिनसम्म काकाको छोराहरुलाई पर्खिदा पनि नआएपछि काजकिरिया सुरु गर्नुपरेको उनको भनाइ थियो ।

धार्मिक संस्कारअनुसार पुरेत सूर्यप्रसाद आचार्यले उनीहरुलाई कर्मकाण्डमा सहयोग पु¥याइरहेका छन् । उनको निर्देशनमा छोरीहरुले तर्पण, पिण्ड दान कर्मलगायतका कार्यहरु गर्दै आएका छन् । पिण्डको सरदाम झिलझिले निवासी कान्छी सानी आमा वत्छला भण्डारीले तयार गरिदिने गरेकी छिन् ।

हिन्दु धर्म शास्त्रअनुसार छोराछोरीलाई विभेद गरेको देखियो र सोही विभेद हटाउन तथा आफ्नो आमाबुबाको काजकिरीया गर्न छोराछोरी बराबर हुन् भन्ने मान्यताको आधारमा घरपरिवारको सल्लाहलेनै श्रीमतीलाई काजकिरीया गर्न दिइएको रेनुदेवीका श्रीमान् काशीनाथ कटुवालले बताए ।

‘छोरासरह छोरीले काजकिरिया गर्न नपाउने हो भने कि त मान्छे खोज्नुप¥यो कि त काजकिरिया नहुने भो !’, छिमेकी भगीरथ लुँइटेलले भने, ‘आमाका लागि छोरीहरुले सुरु गरेको उक्त कार्य समाजमा नौलो र उदाहरणीय भएको हुँदा अन्य परिवारले पनि यस किसिमको कार्य अनुशरण गर्नुपर्ने हुन्छ ।’

यता अर्जुनधारा जलेश्वर धामका मूलअर्चक अग्निप्रसाद सिग्देल गोत्र सरेर गएको छोरीहरुलाई आमाबुबाको जुठो तीन दिन सम्ममात्र लाग्ने निर्णय सिन्धुमा उल्लेख रहेको बताउँछन् । पहिला छोरा नहुँदा सहगोत्रीले, सहगोत्री नहुँदा मितले, मित नहुँदा घरको पुरेतले दशगात्र विधि गर्ने चलन रहेको उनले बताए ।

धर्म शास्त्रअनुसार छेवर कर्म नगरी पिण्ड दान गर्नुहुँदैन भन्ने मान्यता रहे पनि आमाबुबाप्रतिको ममताका कारण उक्त कार्य हुनुलाई आफूले चाहिँ गलत भयो भन्न नसक्ने मूलअर्चक सिग्देलको प्रतिक्रिया छ ।