अर्थ बजार

हात्ती चढेर कोशीटप्पु महोत्सवको उद्घाटन

By admin

February 03, 2020

सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा पहिलो कोशीटप्पु महोत्सव सुरु भएको छ । पूर्व पश्चिम राजमार्गको जमुवाबाट हात्ती चढेर कोशीटप्पुमा पुग्नु भएका मुख्यमन्त्री शेरधन राईले १० दिने पर्यटन महोत्सवको उद्घाटन गर्नुभयो ।

संघीय र प्रदेश सरकारको उद्देश्य अनुरुप कोशीटप्पुमा पर्यटक भित्र्याउन कोशी पर्यटन महोत्सव गरिएको हो । कोशी गाउँपालिकाले आयोजना गरेको महोत्सवलाई कोशी टप्पु वन्यजन्तु आरक्षणमा पर्यटक बढाउने उद्देश्यको रुपमा हेरिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकले थाम्नै नसकेको अवस्थामा कोशीटप्पुमा पर्यटक ल्याउने उदेश्य रहेको पालिकाले जनाएको छ । कोशी टप्पु र आसपासको क्षेत्रमा रहेको पर्यटकीय महत्वका प्याकेज ल्याएर पालिकाले महोत्सव सुरु गरेको हो । महोत्सवमा आउने पर्यटकले हात्तीदेखि जङ्गल सफारीसम्मको व्यवस्था गरिएको छ ।

आन्तरिक सहित ५० हजार भारतीय, तेस्रो देशबाट समेत जोडिने गरि एक लाख पर्यटक भित्र्याउने उदेश्य रहेको गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले जानकारी दिनुभयोे । चराहरुको राजधानीको रुपमा चिनिएको कोशीटप्पु क्षेत्रमा विदेशी पर्यटक बढाउनको लागि यस्ता कार्यक्रमले आकर्षणा थप्ने मुख्यमन्त्री राईले बताउनुभयो ।

उहाँले प्रदेशको पर्यटक भित्र्याउने कोशीटप्पु एउटा उत्कृष्ट गन्तव्य भएको जानकारी दिँदै यस पर्यटकीय क्षेत्रलाई प्रदेश सरकारले प्रथमिकतामा राखेको दाबी गर्नुभयो ।

उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले स्थानीयवासी, कोशीटप्पु बन्यजन्तु आरक्षबीचको सम्बन्ध सुधार भई एउटा नमूनाको रुपमा काम शुरु गर्नुपर्ने दिन आएको बताउनुभयो ।

आइतबारदेखि सुरु भएको कोशीटप्पु महोत्सव माघ २९ गतेसम्म चल्नेछ ।