अर्जुनधारा । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी अर्जुनधारा नगरपालिकाको आयोजनामा शनिबार विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
जनप्रतिनिधि, कर्मचारीसँगै विभिन्न सरोकारवाला संघसंस्थाका प्रतिनिधिहरुको सहभागितामा सरकारको सय पर्यटकीय गन्तव्यमा सूचीकृत अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वर धामदेखि सुरु भएको भ्रमण, अर्जुनधारा–२ स्थित साठीमुरे, सहकाले र अर्जुनधारा–२ सँगै माई नगरपालिका–५ र सूर्योदय नगरपालिका–१४मा रहेको सहकाले झरनामा पुगेर भ्रमण टुङ्गिएको थियो ।
नगरपालिकाको विभिन्न पर्यटकीय स्थलहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित पदयात्राको सुरुवातमा अर्जुनधारा जलेश्वरधामका मूलअर्चक अग्निप्रसाद सिग्देलले नगर प्रमुख हरिकुमार रानालाई भ्रमण सफलताको लागि शुभ साइतको रुपमा गणपतिको झण्डा र नगरपालिकाको नामाकरण नै भगवान शिवको मुख्य बास रहेको अर्जुनधारा जलेश्वर धामबाट रहन गएकोले भगवान शिवको प्रतिकको रुपमा शिवको झण्डा दिई कार्यक्रमको समुद्घाटन गरेका थिए ।
धामदेखि अर्जुनधारा–२ स्थित साठीमुरेसम्म बसमार्फत् यात्रा गरेका सहभागीहरुले साठीमुरेदेखि सहकालेहुँदै अर्जुनधारा–२, माई–५ र सूर्योदय–१४मा रहेको सहकाले झरनासम्मको अनुमानित १२ किलोमिटरको दूरी पदयात्रा मार्फत् सम्पन्न गरेका थिए ।
भ्रमणका सहभागीहरुका लागि साठीमुरे र सहकालेमा स्थानीयबासीहरुले मगर जातिको नृत्यसँगै मौलिक खानाका परिकारहरुको व्यवस्थापन गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० को सुरु भएको उद्घोषसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नगरपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमणका लागि सन्देश दिन पनि कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख रानाले बताए ।
मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्यलगायतले मन्तव्य व्यक्त गरेको उद्घाटन कार्यक्रमको सञ्चालन अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेलले गरेका थिए ।