अर्जुनधारा । अर्जुनधारा नगरपालिकाले भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गरेको नगर महोत्सव जारी छ । मंगलबार वडा नम्बर १० मा महोत्सवको पूर्वतयारी सुरु गरिएको छ ।
नगरले पर्यटन वर्षलाई प्रवद्र्धन गर्ने उद्देश्यले नगरका प्रत्येक वडामा महोत्सव आयोजना गर्दै आएको हो । वडा नम्बर १० मा विविध कार्यक्रम गरी महोत्सवको उद्घाटन गरियो । प्रदेश सांसद झलकसिंह दर्लामीले कार्यक्रमको उद्घाटन गरे ।
महोत्सवमा कला, संस्कृति, साहित्यलगायतका कार्यक्रम सम्पन्न भएको छ । भोलि खेलकुदका विभिन्न विधाका कार्यक्रम गरिने भएको छ ।
उद्घाटनका अवसरमा नगरको स्वास्थ्य शाखा, कृषि शाखा, पशु शाखाले शिविर सञ्चालन गरी वडाबासीलाई सेवा प्रवाह गरेका थिए । कार्यक्रममा विभिन्न जातीय नृत्य तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
त्यसैगरी माटो तथा मल परीक्षण प्रयोगशाला सुरुङ्गाको प्राविधिक सहयोगमा निःशुल्क स्थलगत माटो परीक्षण शिविर तथा श्रीनाथ गण चारआलीले सर्पदंशसम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत आयोजना गरेको थियो । त्यस्तै, विपद् व्यवस्थापनमा प्रयोग हुने सामग्रीको प्रदर्शनी पनि गरिएको थियो ।
अर्जुनधा्रा वडा नं. १० का अध्यक्ष बलदेवसिंह गोम्देनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख हरिकुमार राना तथा उपप्रमुख कमला खतिवडा आचार्य, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण काेइरालालगायतकाे आतिथ्यता थियो ।
वडा सदस्य सकुन्तला बरालले गरेको कार्यक्रमलाई वडा सदस्य भोला गौतमले सञ्चालन गरेको थिए । कार्यक्रममा कलाकार विल्सनविक्रम राई (तक्मे बूढा) र बुद्धि तामाङ (हैट)को उपस्थिति थियो । कार्यक्रममा विशिष्ट आतिथ्यता ग्रहण गरेका उनीहरूको प्रस्तुति भने थिएन ।