समाज

श्रीकृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव सुरु

By admin

March 05, 2020

बिर्तामोड । स्थापनाको ५० वर्ष प्रवेश गरेको सुखद अवसरमा झापाको विर्तामोड–२ चारपानेस्थित श्रीकृष्ण प्रणामी मन्दिरले स्वर्ण महोत्सवको अवसरमा आयोजित बृहद धार्मिक कार्यक्रम बुधबारदेखि सुरु भएको छ ।

उक्त मन्दिरले भ्रमण वर्ष २०२० लाईसमेत प्रवद्र्धन गर्ने गरी स्वर्ण महोत्सवको अवसरमा साताव्यापी विविध धार्मिक तथा सामाजिक सेवामूलक कार्यक्रम आयोजना गरेको हो ।

बुधबार बिहान स्वर्ण महोत्सव स्तम्भ समुद्घाटन, बाबा श्री गोपीदास स्मृतिसभा एवम् कलश अनावरण र साताव्यापी श्री १०८ सागर तारतम पाठ पारायणको शुभारम्भ श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्त विभूषित जगतगुरु आचार्य श्री १०८ कृष्णमणिजी महाराज श्री ५ नवतनपुरीधाम जामनगरको करकमलबाट भएको छ भने दिउँसो श्रीमद्देवी भागवत ज्ञान महायज्ञ (श्रीकृष्ण कथा)–को उद्घाटन प्रदेशसभा सदस्य एकराज कार्कीले गरेका थिए ।

समितिका अध्यक्ष युवा सन्त जगतनन्दन शास्त्रीजी महाराजको अध्यक्षतामा मन्दिरका गुरु पण्डित बुद्धिप्रकाश लुईँटेल र आयोजक समितिका महासचिव शारदाप्रसाद थपलियाले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा मन्दिरका अध्यक्ष राजेन्द्रकुमार वस्नेतले स्वागत गर्दै मन्दिर स्थापनाकालदेखि हालसम्मको अवस्थाको जानकारी दिएका थिए ।

समारोहमा बिर्तामोड नगरपालिकाका प्रमुख सुधिरकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाईं, श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम केसीलगायतले शुभकामना मन्तव्य राखेका थिए भने श्रीकृष्ण युवा परिषद नेपालका उपाध्यक्ष यज्ञ ढकाल, प्रदेश नं १ संयोजक अनिल ढुंगाना, झापा अध्यक्ष सुवास रिजाल, श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाका अध्यक्ष मिलनकुमार बस्नेतलगायतको उपस्थिति थियो । समारोहमा मन्दिरलाई सहयोग पुरयाउने केही समाजसेवीहरुलाई सम्मान पनि गरिएको थियो ।

महोत्सव अवधिभर दैनिक सेवा पूजा, मंगल आरती, ध्यान, चिन्तन, योग, मंगलाचरण, पुष्पाञ्जलि, वाणी चर्चा, विभिन्न विद्वानहरुद्वारा धार्मिक प्रवचन, वाणी गायन, भजन–कीर्तन, गरिने अध्यक्ष डा. जगतनन्दन शास्त्रीजी महाराजले जानकारी दिए

वि. सं २०२६ सालमा दानवीर तत्कालीन रापंस स्व. खम्बसिंह वस्नेत र धर्मपत्नी जानुका वस्नेतले ५ कट्ठा १० धुर जग्गा दान गरेपछि मन्दिर स्थापना भई धार्मिक कार्यक्रमहरु हुँदै आएको छ भने दाताहरुको सहयोगमा मन्दिर परिसरमा १८ वटा शयनकक्ष, ३ वटा भव्य हल, पर्याप्त शौचालयको पनि व्यवस्था रहेको बताइएको छ ।