काँकरभिट्टा। झापामा प्रहरीले लागुऔषधका कारोबारीहरुलाई कडाई गरेपछि लागुऔषध भित्र्याउने नयाँ नयाँ उपाय खोजी गर्ने गरेको पनि पाइएको छ ।
मेचीनगर नगरपालिका वडा नं. ६ भन्सार गेट अगाडि लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा तरकारी खानका लागि प्रयोग हुने फुलकोपीमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेको अवस्थामा २ जनालाई पक्राउ गरेको छ ।
अर्जुनधारा नगरपालिका वडा नं. ११ बस्ने समिर माझी र सुरज माझीले फुलकोपीमा लुकाइछिपाई ल्याएको करिब ४ दशमलव ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताउनुभयो । ‘सब्जीमा समेत लागुऔषध मिसाएर र लुकाएर ल्याउने गरेको भेटियो’, उहाँले भन्नुभयो ।
यसअघि बुधबार नै इलाका प्रहरी कार्यालय बिर्तामोडले ३५ ग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको थियो । लागुऔषध सहित होटलमा कारोबारीहरु रहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले अर्जुनधारा–११ नयाँ बसपार्कमा रहेको मेची माउण्ट होटलबाट ६ जनालाई पक्राउ गरेको हो ।