खेलकुद

झापा ११ मनाङसँग स्तब्ध

By admin

March 08, 2020

पोखरा । अन्जन विष्टको निर्णायक गोलमा नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा मनाङले झापा ११ फुटबल क्लबलाई १-० ले पराजित गरेको हो । अन्तिम चारमा मनाङले अब त्रिभुवन आर्मी क्लब र संकटा क्लबबीच खेलको विजेतासँग खेल्नेछ ।

पहिलो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा अन्जनको प्रहार गोलरक्षक राजकुमार लिम्बूले बचाउँदा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा झापाले राष्ट्रिय टोलीका डिफेन्डर देवेन्द्र तामाङ र मिडफिल्डर विशाल राईलाई मैदान प्रवेश गरायो । लगातार आक्रमण बुनेको मनाङले ७६औँ मिनेटमा अन्जनको गोलमा अग्रता लियो । दयानन्दको लामो पासलाई अन्जनले पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट नियन्त्रणमा लिँदै गरेको प्रहारलाई गोलरक्षकले बचाउन सकेनन् ।

इन्ज्युरी समयको दोस्रो मिनेटमा विमलले पेनाल्टी क्षेत्रभित्र पाएको अवसर सदुपयोग गर्न सकेनन् । लगत्तै मनाङका डिफेन्डर फ्लोरेन्टले सुनिल खड्काको प्रहारलाई ब्लक गर्दै खतरा टारे । अन्तिम मिनेटमा अभिषेक गुरुङ वन भर्सेस वनमा चुक्दा झापाले खेलमा हार बेहोर्नुपर्यो ।

प्रतियोगिता अन्तर्गत सोमबार तेस्रो क्वाटरफाइनलमा रुस्लान थ्री स्टार क्लबले भारतको गान्तोक फुटबल क्लबसँग खेल्नेछ ।