भद्रपुर । नेपाल अपांग संघ, खगेन्द्र नवजीवन केन्द्र झापा शाखाले सामाजिक संस्था रोटरी क्लब अफ भद्रपुरलाई सम्मान गरेको छ ।
अपांगता भएकाहरुलाई विभिन्न सहयोग सामग्री उपलब्ध गराएर उनीहरुको दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संघले आफ्नो २१औं साधारणसभाको अवसर पारेर भद्रपुर रोटरीलाई सम्मान गरेको हो ।
शनिबार झापा उद्योग संघको सभाहलमा सधारणसभा उद्घाटन समारोहका प्रमुख अतिथि जीवनकुमार श्रेष्ठले सम्मानित रोटरी क्लब अफ भद्रपुका अध्यक्ष टिकाराज ढकाललाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे ।
संघकी कार्यवाहक अध्यक्ष लता चापागाईं कार्कीको अध्यक्षतामा सचिव बालध्वज कार्कीले सञ्चालन गरेको सो समारोहमा नगरप्रमुख श्रेष्ठले सामाजिक सेवा कार्यमा क्रियाशील संस्थालाई सम्मान गरेर संघले त्यस्ता अन्य सामाजिक संस्थालाई सामाजिक सेवा कार्यमा लागिरहन प्रेरित गरेको बताए ।
नगर प्रमुख श्रेष्ठले वर्तमान अवस्थामा भद्रपुर बालमैत्री नगर बन्नेतर्फ उन्मूख भएको जानकारी गराउँदै नगरलाई पूर्ण अपांगमैत्री नगर बनाउनेतर्फ पनि नगरपालिकाले कमद चालिरहेको बताए ।
संघका पूर्व अध्यक्ष गिरधर श्रेष्ठले स्वागत गरेको समारोहमा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रमाया श्रेष्ठ, ८ नं वडाध्यक्ष गौरव सुब्बा, नेपाली कांग्रेस ३ नं क्षेत्रीय सभापति गणेश पोखरेल, सम्मानित संस्था रोटरी क्लब अफ भद्रपुरका अध्यक्ष टिकाराज ढकाल, राष्ट्रि«य अपांग सरोकार समिति प्रदेश नं १ का संयोजक मदन बोहोरालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सभापतिमा चापागाईं संघमा आगामी ३ वर्षे कार्यकालका लागि सभापतिमा ऋषि चापागाईं चयन भएका छन् । एक जना सभापति, अपांगतातर्फ ८ जना सदस्य र खुलातर्फ ५ जना सदस्य गरी १४ पदका लागि निर्वाचन प्रक्रिया अघि बढाइए पनि सभापति लगायत सबै सदस्य निर्विरोध भएको थियो ।
अपांगतातर्फको सदस्य पदमा गणेशचन्द्र साह, दिवस खड्का, तलामाया वन गिरी, धर्मराज घिमिरे, रीता खतिवडा, रामप्रसाद टुडु, विक्रम क्षेत्री दाहाल र बृजपाल दास निर्विरोध निर्वाचित भएका छन् भने खुला सदस्यतर्फ सुरेश श्रेष्ठ, पवन श्रेष्ठ, लता चापागाईं कार्की, शान्तरत्न शाक्य र बालध्वज कार्की निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेद्वारी दर्ता गराएका निरज पराजुली र कृष्णप्रसाद प्रसाईंले उम्मेद्वारी फिर्ता लिएपछि खुला सदस्यतर्फ पनि निर्विरोध भएको निर्वाचन समितिका केदार महतले जानकारी दिए । संघमा २२९ मतदाता रहेका थिए ।