बुधबारे । सामाजिक कार्यमा सक्रिय भूमिका खेल्दै आएको ज्वाइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्ति–३ झापाको पहलमा झापाका दुई जना बिरामीले निःशुल्क उपचार पाउने भएका छन् ।

वर्षमा दुई जना टाउको तथा नशा सम्बन्धी (न्युरो)का बिरामीलाई निःशुल्क उपचार गरिने सम्झौता भएको छ । अर्जुनधारा–१० का सुमनकेशर प्रसाईंले आप्mनो श्रीमती इश्वरी प्रसाईंको नाममा “इश्वरी प्रसाईं स्मृति निःशुल्क स्वास्थ उपचार” सेवा सुविधा सम्झौताअनुरुप काठमाडौंको माइती घरस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेस प्रालिमा उपचार गराउने सम्झौता भएको हो ।

अस्पतालले गर्ने सहमतिको अख्तियारी ज्वाइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंलाई दिइएको हो । उक्त अख्तियारी हस्तान्तरण कार्यक्रममा अर्जुनधारा–१० का वडा अध्यक्ष बलदेब गोम्देन, परिवारका तर्फबाट सुमनकेशर प्रसाईं र छोरा विप्लव प्रसाईं, पत्रकार तीर्थ तिम्सिना, रोशन भट्टराई, सोसाइटीका सल्लाहकार प्रकाश भण्डारी, कानुनी सल्लाहकार हर्क परियार, सचिव गोकुल पौडेल, कोषाध्यक्ष प्रवेश भट्टराई, दिनेश खतिवडा, केशव तिम्सिनालगायतको उपस्थिति रहेको थियो ।