समाज

बिरामी लिन अस्वीकार गरे मन्त्रालयले कारबाही गर्ने

By admin

March 29, 2020

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लकडाउनको समयमा सबै प्रकारका आकास्मिक सेवा सुचारु राख्न सम्पूर्ण निजी तथा सार्वजनिक अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयमा आज आयोजित निमित्त प्रेस व्रिफिङ्का अवसरमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संकटको समयमा सबै अस्पतालहरुलाई आआफ्नो जिम्मेवारी र दायित्व पुरा गर्न आग्रह गर्नुभयो ।

प्रवक्ता देवकोटाले कोरोनाको उपचारका लागि तोकिएका डेडिकेटेड अस्पतालहरुले अन्य बिरामी नलिएको र अन्य अस्पतालहरुले ज्वरो तथा रुघाखोकीका बिरामी समेत नलिएको जनगुनासो आईरहेको उल्लेख गर्नुहुँदै त्यसको तत्काल सम्बोधन गर्न र अस्पतालले दिने सबै प्रकारका आकस्मिक सेवालाई सुचारु राख्न निर्देशन दिनुभयो ।

अस्पतालहरुले लकडाउनका कारण जनशक्ति तथा अन्य सामग्रीको अभाव देखाएर बिरामी लिन अस्वीकार गरे मन्त्रालयले कारबाहीको प्रकृया अगाडि बढाउने प्रवक्ता देवकोटाले सो अवसरमा बताउनुभयो ।

प्रवक्ता देवकोटाले कोरोना संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा हालसम्म ९ सय १७ वटा नमूना परीक्षण भएको र त्यसमध्ये ५ जनामा मात्रै संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

यसैगरी टेकु अस्पतालमा ५, पाटनमा ६ र कान्ति अस्पतालमा १ जना गरी जम्मा १२ जनालाई आईशोलेसन बेडमा राखेर उपचार भईरहेको र उनिहरु मध्ये टेकु अस्पतालमा रहेका २ जना बाहेक अन्यको परीक्षण नतिजा आउन बाँकी रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

टेकु अस्पतालको आइशोलेसन बेडमा रहेका २ जनामा यस अगाडि नै संक्रमणको पुष्टि भईसको छ ।