0 Shares

बिर्तामोड । अर्जुनधारा नगर क्षेत्रभित्र कोरोना भाइरसको त्रासले किराना पसलसमेत खुल्न छोडेपछि नगरपालिकाको समन्वयमा खाद्यान्न वितरण गर्ने भएको छ ।

नगरपालिकाले निर्माण गरेको खाद्यान्न व्यवस्थापन समितिको आज सम्पन्न बैठकले लकडाउनका कारण हुनसक्ने खाद्यान्न संकट टार्न वितरण प्रणाली व्यवस्थित बनाउने निर्णय गरेको हो ।

अर्जुनधाराका ११ वटा वडामा ५५ वटा वितरण केन्द्र बनाइने भएको छ । नगरकी उपमेयर तथा समितिकी संयोजक कमला खतिवडा आचार्यको अध्यक्षतामा बसेको बैठकले समिति गठन गरेर खाद्यान्न वितरणलाई व्यवस्थित बनाउने तयारी भएको हो ।

उनका अनुसार खाद्यान्नका लागि २ वटा र तरकारीका लागि पनि २ वटा गाडीको व्यवस्थापन गरेर नगरका प्रत्येक वडाका ५–५ वटा टोलमा सामग्री पुर्याउने तयारी गरिएको छ । प्रत्येक वडामा गठित ५ वटा टोल विकास समितिका पाँच स्थानमा एक-एक वटा किराना पसललाई खाद्यान्न बिक्रीका लागि अनुमति दिइनेछ ।

समितिले सबै वडालाई पाँच-पाँच वटा पसल सञ्चालनका लागि सूची माग गरेको भए पनि ३, ६ र ७ नम्बर वडाबाट नामावली आइनसकेको उपमेयर आचार्यले बताइन् । अनुमति प्राप्त पसल बिहान १० बजेदेखि ३ बजेसम्म खुल्नेछन् ।

उनका अनुसार सूचीकृत तथा अनुमति प्राप्त पसलले उपभोक्ता मूल्य अनिवार्य टाँस गर्नुपर्नेछ । सूचीकृत पसलले दोकान अगाडि साबुन पानीले हात धुने व्यवस्था पनि गर्नुपर्ने निर्णय भएको छ । त्यस्तै, सामाजिक दूरी कायम गरी वितरण प्रणालीलाई चुस्त बनाउने निर्णय भएको उनले बताइन् ।

खाद्यान्न तथा किरानाका लागि उद्योग वाणिज्यका बसन्त सोमानी र चेम्बर अफ कमर्शका पुष्प रेग्मीको समन्वयमा आपूर्तिको काम हुनेछ भने तरकारीका लागि कृषक अगुवा प्रेमसागर सापकोटाको नेतृत्वमा मामा भान्जा कृषि फार्म र दाजुभाइ कृषि फार्मले व्यवस्थापन गर्ने निर्णय भएको छ । त्यस्तै, अर्जुनधारा डेरी उद्यगका प्रमुख कमल भण्डारीले दूध र दूधजन्य पदार्थको व्यवस्थापन गर्ने सहमति बनेको छ ।

‘हामीले खाद्यान्नको आपूर्तिलाई सहज बनाउने तयारी गरेका छौं’, मेयर हरिकुमार रानाले भने, ‘अब अर्जुनधारा नगरभित्र कसैले पनि खाद्यान्न, तरकारीको अभाव खप्नु पर्ने छैन ।’