समाज

बाटैमा श्राद्ध कर्म गर्दै इलामका रिमाल दम्पत्ति

By admin

March 29, 2020

इन्दु पुर्वेली,

बिर्तामोड । इलाम नगरपालिका वार्ड नं-८ का पदमलाल रिमाल र लक्ष्मी रिमाल आइतबार बेलुका काठमाडौंबाट गाडी चढे । यात्रा थियो आफ्नो पैतृक थाकथलो इलाम तिल्केनीसम्मको ।

काठमाडौंको रातोपुल र कालोपुलको बीचमा रहेको रुद्रपनेखु पुलनजिकै किराना दोकान गरेर अस्थायी रुपमा उनीहरु काठमाडौं बस्दै आएका छन् । रामनवमीमा आफ्नै भतिजाको ब्रतबन्ध गरिने सुनिश्चित भएपछि उनीहरु अस्थायी बसोबास काठमाडौँ केही दिनका लागि छाडेर पैतृक थाकथलोतिर लागेका थिए ।

तर, स्थायी घरमा नपुग्दै सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रणको पहल स्वरुप मुलुकलाई लकडाउन घोषणा गरेपछि उनीहरु अहिले झापा अर्जुनधारा नगरपालिका–९ कालीस्थानस्थित ज्वाइँछोरी त्रिलोचन–कमला अधिकारीको घरमा बस्न बाध्य छन् ।

आइतबार साँझ काठमाडौंबाट गाडी चढेका उनीहरु सोमबार बिहान बिर्तामोड आइपुग्दा नपुग्दै मुलुक लकडाउन भइसकेको थियो ।

अधिकांश हिन्दु संस्कार धारण गर्नेहरुले नियमितरुपमा गर्दै आएको आफ्ना पिताजीको श्राद्ध कर्मका लागि उनीहरु इलाम नै पुग्ने योजनामा थिए । मुलुक लकडाउन भएपछि आफ्ना पिता टिकारामको श्राद्ध कर्म अन्ततः कालिकापीठमा सम्पन्न गरेका छन् ।

घर पुग्न नपाएपछि बाटैमा भए पनि यथासम्भव श्राद्ध कर्म गरिएको पदमलालले बताए । ‘हिजोसम्म के गर्ने भन्ने चिन्ताले सताएको थियो, यहाँ आएपछि खुशी लाग्यो । धार्मिक तीर्थस्थलमा आएर हत्पति धर्मयज्ञ तथा पितृकार्य गर्न पाइँदैन, मुलुक बन्दले यो अवसर नै जुटायो’, उनले भने ।

‘सके अभ्यासले नसके मनले गर्नु भनेको छ, हाम्रा बैदिक ग्रन्थहरुले’, पदमलालले भने– ‘धर्मकार्य बरु नगर्दा पनि हुन्छ, तर पितृकार्य नगरी हुँदैन, फेरि तिथिले पर्खदैन पनि । बाटो हिँडिदैछ भने आफ्ना पितृको अनुहार सम्झदा नि पुग्छ रे । तर, म त न बाटोमा न घरमा जस्तै भएँ ।’

आफैंले कन्यादान दिएकी छोरीका घरमा समेत पितृ कार्य गर्नुहुँदैन भन्ने वैदिक शास्त्रीय मान्यतालाई आत्मसात गर्दै उनीहरु कालिकापीठ परिसरको गौशालामा श्राद्धका लागि आइपुगेका हुन् ।

काठमाडौंमा रहँदा उनीहरु आफ्नै डेरामा वा पशुपतिनजिक बाग्मतीमा श्राद्ध कर्म गर्दै आएका थिए रे । आफ्नो घर वा बसेको ठाउँमा गर्न सकिएन भने पितृकर्म वा देवकर्म गर्न असमर्थ भए देवस्थल, नदीे, गौशाला वा वरपिपलको रुखमुनि गर्नु भन्ने प्रमाण शास्त्रीय ग्रन्थहरुमा उल्लेख रहेको कालिका संस्कृत विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजाल बताउँछन् ।

‘परापूर्वकालदेखिकै चालचलन हे¥यो भने रामले १६ दिनसम्म पितृ कार्य गरेर मात्रै नवरात्रभर देवीको उपासना गरेको पाइन्छ’, पदमलालले भने, ‘त्यहींबाट हाम्रा कर्महरु शुरु भएका हुन् ।’

सरकारको लकडाउन घोषणापछि घर पुग्न नपाएका उनले सरकारको आदेशको उल्लंघन गर्न नसकिने बताउँदै भने, ‘जोखिम मोल्न त सकिँदैन नि ।’ अवस्था सामान्य भएपश्चात मात्रै आफ्नो घर जाने उनले बताए ।