समाज

बिर्तामोडका मेयर टोल–टोलमा तरकारी बेच्दै

By admin

March 29, 2020

झापा । लकडाउनका बेला बिर्तामोड नगरपालिका आफैँले ताजा तरकारी टोल–टोलमा ल्याउँदैछ । आइतवारदेखि नगर प्रमुख ध्रुवकुमार सिवाकोटी टोल–टोलमा तरकारी लैजाने अभियानमा आफैँ सक्रिय भएका छन् ।

नगरपालिकाभित्रका किसानले उत्पादन गरेको अर्ग्यानिक तरकारी टोल–टोलमा बेच्न थालिएको हो । नगरपालिकाले टेम्पोमा सब्जी लोड गरेर टोल–टोलमा पठाएको छ । नगरप्रमुख सिवाकोटीले समाजिक सञ्जाल फेसबुकमा तस्वीरसहित पोस्ट गरेका छन् ।

उनले भनेका छन्, ‘सागसब्जीको अभाव हुन नदिन नगरपालिकाले कृषि शाखा प्रमुख राजेन्द्र कडरियाको नेतृत्वमा मेयर विषादिमुक्त कार्यक्रम अन्तरगत उत्पादन गरिएका सव्जी घर घरमा पुर्याइँदैछ । त्यसका लागि ९८४२७५१५०२ मा सम्पर्क गर्नुहोला ।’

नगर प्रमुख शिवाकोटीले लकडाउनका बेला सर्वसाधारणलाई अभाव नहोस् र उनीहरु घरभित्रै बसिरहन सहयोग पुगोस् भनेर नगर क्षेत्रमा उत्पादित तरकारी उपभोक्ताको घरसम्म लैजाने योजना अघि सारिएको बताए । विर्तामोड नगरपालिकाले बाँड्ने तरकारीमा साग, फर्सी, टमाटर, करेला लगायत छन् ।

‘मेयर विषादिमुक्त कार्यक्रम’ अन्तर्गत किसानलाई अनुदान दिएर नगरपालिकाले गाउँ–गाउँमा अर्ग्यानिक तरकारी उत्पादन गर्न प्रेरित गर्दै आएको छ । तिनै किसानहरुले फलाएको तरकारी नगरपालिकाले वडा तहमा जनप्रतिनिधिलाई परिचालन गरेर उपभोक्तालाई बेच्न थालेको हो ।

छ वटा गाडीमार्फत बिहान र बेलुका दुई सिफ्टमा टोल–टोलमा तरकारी लगिँदैछ । तरकारी बेच्न नगर प्रमुख शिवाकोटी र कृषि शाखाका अधिकृत राजेन्द्र कडरिया आफैँ पनि टोलमा पुगिरहेका छन् ।