झापा । मेचीनगर ७ स्थित पुरानो भन्सारमा रहेको जागृत बाल उद्धार केन्द्रलाई बिर्तामोडका एक व्यवसायीले खाद्यान्न सहयोग गरेका छन् ।
उद्दार केन्द्रमा रहेका बालबालिकाका लागि खाद्यान्न अभाव भएको समाचार हिजो विभिन्न अनलाइनमा आएपछि बिर्तामोडका व्यवसायीले खाद्यान्न सहयोग गरेका हुन् । दाता व्यवसायीले नाम भने नखुलाउन आग्रह गरेका छन् ।
उद्दार केन्द्रलाई खाद्यान्न उपलब्ध गराउन संयोजनकारी भूमिका निर्वाह गरेका अर्जुनधाराका युवा समाजसेवी तथा सरसफाइ अभियन्ता विष्णु आचार्यका अनुसार केन्द्रमा चामल १२० केजी उपलब्ध गराइएको छ । त्यस्तै, ८ केजी चिउरा, ५ लिटर खानेतेल उपलब्ध गराइएको छ । त्यस्तै, १० केजी मुरइ, पाँच केजी मुसुरो दाल, एक कार्टुन चाउचाउ, २० केजी आटा, ६ केजी नुन, साबुन १६ थान, एक कार्टुन फ्रुटी, १६ थान लुगा धुने साबुन, सर्फ १२ थान उपलब्ध गराइएको छ ।
यसैगरी, २० केजी आलु, ५ केजी टमाटर, २ केजी खोर्सानी, स्कुस ५ केजी, प्याज ५ केजी, केराउ २ केजी, धनिया, बेसार, मसला, हरियो सागलगायतका खाद्यान्न केन्द्रमा पुगी वितरण गरिएको आचार्यले जानकारी दिए ।
बाल गृहमा ८ जना बालिकासहित १४ जना बालबालिकाले आश्रय पाउँदै आएका छन् । लकडाउनका कारण स्टकमा चामल लगायतका खाद्यान्न सकिएर सङ्कट निम्तिएको केन्द्रका सञ्चालक समितिका सचिव विकास देवकोटाले बताएको यसअघि समाचार सार्वजनिक भएको थियो ।
सात वर्षदेखि सञ्चालित सो बालगृहमा ६ वर्षदेखि १८ वर्षसम्मका असहायहरु बस्दै आएका छन् । उनीहरु सबै स्थानीय विद्यालय र क्याम्पसमा पढ्छन् ।