अर्थ बजार

लकडाउनमा काँकरभिट्टा नाकाबाट अढाई करोडको तरकारी आयात

By admin

April 02, 2020

काँकरभिट्टा । लकडाउनयता मेची भन्सारहुँदै करिब अढाई करोडको तरकारी र फलफूल आयात भएको छ ।

मेची भन्सारका प्रमुख ध्रुवराज विश्वकर्माका अनुसार यो अवधिमा करिब अढाई करोड मूल्य बराबरको आलु, प्याज, लसुन, टमाटर तथा हरियो तरकारी भारतबाट आयात भएको छ । यो अवधिमा करिब ७ लाख मूल्यका फलफूलसमेत आयात भएको देखिएको छ ।

हवाई इन्धन र एलपीजी ग्यासबाहेक अन्य पेट्रोलियमको आयात छैन । करिब ४ करोडको एलपीजी आउँदा करिब २२ लाखको हवाई इन्धन आयात भएको छ । ‘पेट्रोल र डिजलको आयात छैन’, भन्सार प्रमुख विश्वकर्माले भने, ‘तेल स्टोर भएर रहेको छ, खपत भएको छैन ।’

लकडाउनमा खाद्यान्नको रुपमा मकै र कोदोको आयात भएको छ । मूलतः यी दुवै अन्न मदिरा बनाउन प्रयोग हुन्छ । करिब २० लाखको कोदो र २७ लाखको मकै आयात भएको छ ।

यसका अलावा कोइला, क्लिङकर, छोकडा, मरिच, केराउ, सुपारीको आयात पनि यो अवधिमा भएको पाइएको छ । सरकारले तेस्रो देशबाट आयात भइरहेको छोकडा, मरिच, केराउ र सुपारीको आयात रोक्न भन्सार हरुलाई पत्राचार गरिसकेको छ । ‘नयाँ प्रतितपत्र (एलसी) खोलेर चाहिँ यी वस्तु आयात गर्न नमिल्ने सरकारी निर्णय हो’, भन्सार अधिकृत प्रकाश सुवेदीले भने,‘पहिल्यै एलसी खोलिएका सामान अहिले आयात भइरहेका छन् ।’

लकडाउन र नाकाबन्दीका कारण बंगलादेशसँगको व्यापार ठप्प छ । कोरोनाको संक्रमण हुन सक्ने भन्दै भारतले फूलबारी–बंगलाबन्द नाका सिल गरेका कारण बंगलादेशसँगको व्यापार ठप्प भएको हो । (कान्तिपुरबाट)