समाज

राहत कोषमा मेची उद्योग बाणिज्य संघको २ लाख

By admin

April 04, 2020

झापा । विपद् जोखिम न्युनिकरण तथा व्यवस्था ऐन , २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित मेचीनगर विपद् व्यवस्थापन समितिमा धमाधम रकम जम्मा गर्ने क्रम बढेको छ ।

नोवल कोरोना भाइरस (कोभिड १९) बाट बच्न गरिएको लकडाउनमा विपन्नले खाद्यान्नको अभावमा भोकभोकै बस्न नपरोस् भन्ने ध्येयले विभिन्न संघ संस्थाहरुले समितिमा रकम जम्मा गर्न थालेका हुन् ।

झापाको मेचीनगर नगरस्तरीय विपद् व्यवस्थापन कोषमा शनिबारमात्र मेचीनगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग बाणिज्य संघले नगद २ लाख १ हजार रुपैयाँ जम्मा भएको नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले बताए ।

संघकातर्फबाट अध्यक्ष ऋषिराज तिम्सिना, बरिष्ठ उपाध्यक्ष मोहन निरौला र उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले नगर प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीलाई संयुक्तरुपमा उक्त रकम हस्तानतरण गर्नुभएको हो ।

सोही दिन नै स्थानीय व्यवसायी तथा उद्योग उपाध्यक्ष क्षेत्रीले आफ्नो व्यक्तिगत कोषमा २१ हजार रुपैयाँ प्रदान गर्नुभएको संघका कार्यकारी अधिकृत गोपाल बस्नेतले बताउनुभयो ।

योसँगै नगरस्तरीय विपद् व्यवस्थापन कोषमा ४ लाख ७२ हजार रुपैयाँ संकलन भएको छ । यसअघि झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी संस्था र सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिडेटले ५०/५० हजार रुपैयाँ प्रदान गरेका थिए ।

भानु बहुमुखी सहकारी संस्था मेचीनगरले ५० हजार मेचीनगर बचत तथा ऋण सहकारी संस्था मेचीनगरले ५१ हजार र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेचीनगरले ५० हजार रुपैयाँ कोषमा जम्मा गरिसकेको कोरोना भाइरस संक्रमण रोकथाम र राहत तथा उद्दार कार्य सञ्चालन समितिका सचिव अनन्तप्रकाश वस्तीले बताए ।