राजु पौडेल, झापा । लकडाउनमा अत्यावश्यक सामाग्री आयातमा खुल्ला रहेको पूर्वको काँकरभिट्टा–पानीट्याङ्की नाका पूर्णरुपमा बन्द भएको छ ।
भारतको पश्चिम बंगाल सरकारले बुधबारबाट सडक र सवारीलाई पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेसँगै काँकरभिट्टा–पानीट्याङ्की नाका पूर्णरुपमा ठप्प भएको हो ।
भारतमा नोवल कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गएको र मानिसको मृत्यु समेत हुन थालेपछि पश्चिम बंगाल सरकारले भारतीय नाका रानीगञ्ज (काँकरभिट्टा–पानीट्याङ्की) भएर कुनै पनि मालवाहक सवारी साधन पठाएको छैन । जसका कारण यो नाका हुँदै बुधबारबाट एउटा पनि अत्यावश्यक सामग्री बोकेका सवारी नेपाल प्रवेश गरेका छैनन् ।
केही दिन अघिदेखि भारतको पानीट्याङ्की नाकामा थन्किएका १ सय १४ वटा सवारी साधन भारतीय भन्सार कार्यालयले मंगलबार साँझसम्म नेपाल प्रवेश गराइसकेको थियो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका अनुसार ग्याँस, कोइला, क्लीनर, बुलेट, तरकारी बोकेका ती मालवाहक सवारी साधन नेपाल प्रवेश गरेका थिए । तर, बुधबारदेखि पूर्ण लकडाउनको कारण देखाउदैं पश्चिम बंगाल सरकारले कुनै पनि मालवाहक सवारी साधन नपठाउने जानकारी मौखिकरुपमा आफुलाई प्राप्त भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो ।
पश्चिम बंगाल सरकारले नेपालसँगै भुटान, बंगलादेशसँग सीमा जोडिएका नाका समेत लक गरेको बताइएको छ । भारत सरकारले भने लकडाउनमा यो नाकासहित नेपालसँग सीमा जोडिएका चारवटा नाका मात्र खुला गर्ने निर्णय गरेको थियो ।