झापा । चीनको वुहान सहरबाट विश्वभरि महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख दुई हजार ७३४ पुगको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का अनुसार विश्वभर १६ लाख ९९ हजार ५६१ जना कोरोना संक्रमित पुगेका छन् । संक्रमितमध्ये ३ लाख ७६ हजार ३२३ जना उपचारपछि घर फर्किएका छन् ।
सफल उपचार र निधन भएकाबाहेक १२ लाख १८ हजार ७४२ जनामध्ये चार प्रतिशत अर्थात ४९ हजार ८३० जनाको अवस्था दयनीय छ । बाँकी ११ लाख ६८ हजार ९१२ जनाको उपचार र अवस्था स्थीर छ ।
कारोना भाइरसबाट सबैभन्दा बढी निधन इटलीमा भइरहेको डब्ल्युएचओले जनाएको छ । इटलीमा ज्यान गुमाउनेको संख्या १८ हजार ८४९ जना पुगेको छ । त्यसपछि अमेरिकामा १८ हजार ७४७ जना मृतक पुगेका छन् ।
संक्रमितको संख्या र मृतकको संख्या हेर्दा इटलीझैँ नदेखिए पनि अमेरिकाको न्युयोर्क सहरमा कोरोना संक्रमण डरलाग्दो गरी फैलिइरहेको छ । अमेरिकामा जुन रुपमा कोरोना भाइरस संक्रमण बढिरहेको छ र जुन रुपमा मृत्यु भइरहेको छ त्यसको रफ्तार हेर्दा इटली चाँडै दोस्रो नम्बरमा आउने देखिन्छ । त्यस्तै, स्पेनमा १६ हजार ८१, फ्रान्समा १३ हजार १९७, बेलायतमा ८ हजार ९५८, इरानमा ४ हजार २३२ जनाको मृत्यु भइसकेको छ ।
सुरूमा ठुलो मानवीय क्षति व्यहोरेको चीनले अथक प्रयासपछि संक्रममण नियन्त्रणतर्फ महत्वपूर्ण उपलब्धि हासिल गरिरहेको छ । चीनमा ३ हजार ३३९ जनाको निधन भइसकेको छ । तर, दक्षिणी छिमेकी मुलुक भारतमा संक्रमित र ज्यान गुमाउनेहरूको संख्या निरन्तर बढिरहेको छ । अहिलेसम्म त्यहाँ २४९ जना संक्रमितको मृत्यु भएको छ । ७ हजार ६०० संक्रमित पहिचान भएको छ ।
विश्वका २१० मुलुकमा फैलिएको कोरोना भाइरसको नेपालमा संक्रमितको संख्या ९ पुगेको छ भने एक जना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म ३ हजार ५२५ जनालाई कोरोना संक्रमणको परीक्षण गरिएको छ । (बिहान ७ः४५ बजेको अपडेट)