अर्थ बजार

भारतका व्यापारी आएपछि धरानको कृषि बजार बन्द

By admin

April 14, 2020

प्रदीप मेन्याङ्बो, सुनसरी । लुकिछिपी आएका भारतीय व्यपारीहरुको कारण कोरोना भाइरस संक्रमण फैलन सक्ने भएकाले धरानको कृषि उपज बजार बुधबारदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

धरान–१३ स्थित कृषि उपज बजार व्यवस्थापन समिति र धरान उपमहानगरपालिकाले तत्कालका लागि कृषि बजार बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस त्रासकाबीच लकडाउन उल्लंघन गर्दै तरकारी बोकेको गाडीमा लुकिछिपी भारतीय तरकारी व्यापारीहरु धरान आउन थालेपछि कृषि उपज बजार बुधबारदेखि बन्द गर्ने निर्णय गरेको धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेले बताए ।

लकडाउनको बेला सागसब्जी तरकारी बिक्री वितरणमा रोक लागेको थिएन । तर, सोमबार एक भारतीय व्यापारी कृषि उपज बजारमा सागसब्जी तरकारी थोक मूल्यमा किन्न पुगेपछि लकडाउनको बेला कसरी आइपुग्यो भन्ने चासो बढेसॅगै कोरोना त्रास फैलिएको थियो ।

काफ्लेले भने, ‘ती भारतीय व्यापारीका भाई धरानमा बसेर तरकारी व्यापार गर्दै आएका छन् । तिनैको तरकारी बोकेको गाडीमा रानी भन्सारबाट लुकेर गत शुक्रबार आएको शंका गरिएको छ । तिनलाई क्वारेन्टाइनमा बस्न भने पनि नबसी बाहिर हिडडुल गरेको थाहा भएपछि प्रहरीको सहयोगमा आइसोलेशन वार्डमा पठाइएको छ ।’

उनका अनुसार तरकारी बोकेको सवारी साधनमा अन्य भारतीय नागरिक पनि लुकिछिपी आउने गरेको सुन्नमा आएपछि कृषि बजार नै बन्द गर्न उपमहानगरपालिका र बजार व्यवस्थापन समिति बाध्य भएको हो ।

धरानको कृषि उपज बजारमा भारतीय बजारबाट पर्वल, तितेकरेला, भिण्डी आयात हुने गरेको छ । भारतीय तरकारी आयातमा पनि पुरै प्रतिबन्द गरेसंगै कोशी करिडोरका पहाडी जिल्लाबाट आउने मौसमी फलफूल तरकारी सागसब्जी समेत कृषी बजारमा नल्याउन कृषक र व्यापारीहरुलाई जानकारी दिइसकेको बजार व्यबस्थापक लक्ष्मण भट्टराईले बताए ।

उनले भने, ‘तरकारी सागसव्जी व्यापारीका कारण कोरोनाको जोखिम झन बढ्ने देखिएकाले एकसातालाई ‘मार्केट च्यानल’ तोडेको हो । कोशी करिडोरका तरकारी सागसब्जी किन्न र भारतमा उत्पादित पर्वल, करेला बिक्री गर्न भारतीय व्यपारीहरु पनि लुकीछिपी आउन थालेपछि कोरोना संक्रमण बढ्ने देखियो । अहिले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले पनि बजार बन्द गरिएको हो ।’

धरानको कृषि उपजबजारमा यो सिजनमा कोशी करिडोरमा उत्पादित हरिया तरकारी फलफूल सागसब्जी दैनिक ६५ टन अर्थात २७ लाख रुपैयाँ बराबरको कारोबार हुने गरेका थियो ।

व्यवस्थापक भट्टराईका अनुसार दैनिक रुपमा मटर कोसा १० टन, मुला, टमाटर १० टन, आलु प्याज २५ टन, लसुन, सजिवन, कटहर ५ टन, बन्दकोभी ५ टन, हरिया सागसव्जी १० टनको कारोबार हुने गरेको थियो । कान्तिपुरबाट