अर्थ बजार

झापाका व्यवसायीले बढाए पेट्रोल र डिजेलको मूल्य

By admin

May 01, 2020

पार्थ मण्डल, झापा । भारतको पश्चिम बंगाल सरकारले झापाको पूर्वीनाका काँकडभिट्टा ठप्प पार्दा झापाका पम्पहरूले आयल निगमले तोकेको दरभन्दा ७५ पैसा बढीमा इन्धन बिक्री गरिरहेका छन्। तर, एलपी ग्यास उद्योगहरूले भने तोकेको मूल्यमै उपभोक्तालाई ग्यास सिलिन्डर दिइरहेका छन्।

आयल निगमले चाराआली डिपोको १५ किलोमिटरभित्रका पम्पहरूले पेट्रोल ९४ रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेल ८३ रुपैयाँ ५० पैसामा बिक्री गर्न मूल्य निर्धारण गरेको छ। तर, झापाका पम्पहरूले तोकेको मूल्यमा ढुवानी खर्च भन्दै ७५ पैसा थप गरेर इन्धन बिक्री गरिरहेका छन्।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि भन्दै पश्चिम बंगाल सरकारले गत चैत २६ गतेदेखि पूर्वीनाका काँकडभिट्टा–रानीगञ्ज (पानीटंकी) बाट आयातनिर्यात बन्द गरिदिएको छ।

बंगाल सरकारले पूर्वीनाकामा अघोषित नाकाबन्दी लगाएपछि भारतबाट आउने इन्धन, औषधिलगायत अतिआवश्यक सामान भन्सार आउन छाडेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख ध्रुव विश्वकर्माले जानकारी दिए।

काँकडभिट्टा नाका ठप्प भएपछि सिलिगुढी डिपोबाट इन्धन आउन छाडेको महिना दिन हुन लागेको चाराआली डिपोका प्रमुख विपिन श्रेष्ठले जानकारी दिए।काँकडभिट्टाबाट इन्धन आउन छाडेका कारण झापामा इन्धनको मूल्यमा ७५ पैसा बढेको स्विकार्दै डिपोका प्रमुख श्रेष्ठले भने, ‘मेची पेट्रोलियम डिलर्स एसोसिएसनले जिल्ला प्रशासन र चाराआली डिपोको सल्लाहमै रकम बढाएको हो।

विराटनगर डिपोबाट इन्धन लिनुपर्दा ढुवानी खर्च बापतको रकम एसोसिएसनले इन्धनमा जोडेको हो। यसमा हामीले हस्तक्षेप गर्न अधिकारभित्रै पर्दैन। सिलीगुढीबाट इन्धन आउन छाडेकोले यहाँका पम्प व्यवसायीहरूले विराटनगरबाट बिल काटेर इन्धन ल्याएर सीधै पम्पमा लैजाने गरेका छन्। हामीले सहजीकरण मात्र गरिरहेका छौ।’

लकडाउनमा ढुवानी खर्च भन्दै पम्प व्यवसायीले उपभोक्तासँग ढुवानी खर्च जोडेर लिन थालेपछि उपभोक्ता थप मारमा परेका छन्। सरकारले तोकेको मूल्यमा इन्धन नपाएको सवारी चालकहरूको गुनासो छ।

यता मेची पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष नवीन कोइराला भन्छन्, ‘विराटनगरबाट इन्धन ढुवानी गरेर बिक्री गर्दा प्रतिलिटर एक रुपैयाँ अतिरिक्त खर्च बढी लाग्न थालेको छ। हामीले केही दिन घाटा व्यहोरेर इन्धन उपभोक्तालाई दिएका हौ,’ उनले थपे, ‘पम्प व्यवसायीलाई घाटा हुन थालेपछि हामीले दुई दिन भयो भाउ बढाएको। काँकडभिट्टा नाका सुचारु भए लगतै निगमले तोकेको भाउमै हामी इन्धन बिक्री गर्छौं।’

पूर्वको झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी ६५ वटा पम्प छन्। झापामा मात्र ३५ वटा पम्प छन्। चार वटै जिल्लामा दैनिक एक लाख लिटर इन्धन खपत हुने गरेको चाराआली डिपोका प्रमुख श्रेष्ठले बताए। अहिले लकडाउन अवधिभरले इन्धन पर्याप्त मात्र आइरहेको छैन। त्यसमाथि विराटनगरबाट ल्याउँदा झनै समस्या छ। आइतबारदेखि जिल्लामा इन्धन सहज हुने एसोसिएसनका अध्यक्ष कोइरालाले बताए।

ग्यासको मूल्य यथावत् पेट्रोल, डिजेल र मट्टितेलको मूल्य मेची पेट्रोलियम डिलर्स एसोसिएसनले लकडाउनको समयमा बढाएको बेला झापाका ग्यास उद्योगले भने एलपी ग्यासको मूल्य बढाएको छैन । झापामा चार वटा ग्यास उद्योग सञ्चालनमा छ ।

ग्यास उद्योगहरूले पनि भारतबाटै एलपी ग्यास ल्याइरहेका छन् । काँकडभिट्टा नाका बन्द भएपछि उनीहरू पनि जोगबनी–विराटनगर नाकाबाटै ग्यासका बुलेट भित्राइरहेका छन् ।

नेपाल एलपी ग्यास महासङ्घका सल्लाहकार तथा पराजुली ग्यास उद्योगका सञ्चालक आदित्य पराजुली भन्छन्, ‘विराटनगर भएर ग्यासका बुलेट झापा ल्याउँदासम्म ढुवानी खर्च बढी लाग्छ, तर हामीले जिल्लामा एलपी ग्यासको मूल्य बढाएका छैनौँ ।’

एउटा ग्यासको बुलेट विराटनगर भएर भित्राउँदा कम्तीमा १५ देखि २० हजार बढी खर्च लाग्छ । निगमले तोकेको मूल्यमै एलपी ग्यास बिक्री गरिरहेका छौ ।’