0 Shares

पार्थ मण्डल,
झापा । भारतीय सिमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका पाँच वटा वडा सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

कचनकवलका क्वारेनटाइनमा बसेकामध्ये १० जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार एक जना र मङ्गलवार ९ जनामा कोरोना देखिएपछि गाउँपालिकाले सो निर्णय लिएको अध्यक्ष आलमले बताए ।

गाउँपालिकाभित्र सात वटा वडा रहेको छ । त्यसमध्ये ५ वटा वडा भारतसँग जोडिएको छ । भारतसँग जोडिएको पाँच वटै वडा सिल गर्ने तयारी गरिसकेको उनले बताए । ‘गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा सिल गरिएको हो,’ अध्यक्ष आलमले भने, ‘यी वडाहरू भारतसँग जोडिएकोले त्यहाँबाट लुकिछिपी नेपाली नागरिक भित्रिन नदिनलाई सिल गर्‍यौँ ।’

आजै झापाका प्रमुख जिल्ला अधिकारी, सांसद, जनप्रतिनिधि, राजनीतिक दलसँग छलफल गरेर यस बारेमा थप निर्णय गरिने उनको भनाई छ ।

प्रदेश सांसद वसन्त बानियाँले गाउँवासीलाई सुरक्षित गर्न गाउँपालिकाका सीमा क्षेत्र सिल गर्नुबाहेक अन्य विकल्प नरहेको बताए । ‘गाउँवासीका सुरक्षाका लागि अहिले भारतबाट आउनेको सङ्ख्या यकिन गरी थप क्वारेनटाइन बनाउने बारेमा गाउँपालिकासँग समन्वय गरिरहेका छौ,’ उनले भने ।’

यता कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समिति झापाले पनि कचनकवलको पाँच वटा वडा सिल गर्ने भनी निर्णय गरिसकेको झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पथरिया माविको क्वारेनटाइन सिल
गत शनिवार भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जना नेपाली नागरिकलाई पथरिया माविमा बनाइएको क्वारेनटाइनमा राखिएको छ ।

उनीहरू सबैको स्वाब पीसीआर परीक्षणका लागि कोसी अस्पताल विराटनगर पठाइएकोमा १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर्ट पनि आउने क्रममा छ ।

सोमबार साँझ एक कोरोना सङ्क्रमित पुरुषलाई कोसी अस्पताल उपचार लागि पठाइसकेको र मङ्गलवार थप ९ जनालाई पठाउने तयारी भइरहेको अध्यक्ष आलमले बताए ।

‘पथरिया माविमा राखिएका व्यक्तिहरूमा कोरोना देखा पर्न थालेपछि त्यहाँको क्वारेनटाइन सिल गर्न लागेको हो,’ उनले भने, ‘अब भारतबाट आउने नागरिकलाई अन्यत्र राखिने तयारी भइरहेको छ ।’

त्यसका लागि केचनाको महेन्द्ररत्न माविमा एक सय बेडको थप क्वारेनटाइन बनाउने काम सुरु भइसकेको उनले बताए । पथरिया माविमा ३३ र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेनटाइनमा एक महिला गरी ६४ जना रहेका छन् । जम्मा गाउँपालिकामा ९७ जनालाई क्वारेनटाइनमा राखिएको थियो । उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन् ।

यता लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा बसेकाहरुको पनि स्वास्थ्यकर्मीको टोली स्वाब संकलन गरिरहेका छन् ।

खुल्ला सीमाले थप चुनौती
कचनकवलको पाँच वटा वडा भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासँग जोडिएको छ । खुल्ला सीमा कारण भारतबाट लुकिछिपी नेपाली नागरिक आउने क्रम जारी छ ।

भारतमा रेल खुलेपछि यहाँका बासिन्दा धमाधम स्वदेश फर्किन थालेका छन् । बोर्डरसम्म आइपुगेका नेपालीहरूलाई भारतीय एसएसबीले पनि नेपाल प्रवेश गर्न दिइरहेको बताउँदै गाउँपालिका अध्यक्ष आलमले भने, ‘यसले सीमामा थप चुनौती देखिएको छ ।

भारतीय सुरक्षाकर्मीले रोकेका भए, यस्तो समस्या आउँदैन थियो । नेपाल प्रवेश गरेपछि उनीहरूलाई यहाँ ल्याएर राख्नु पर्ने नै हुन्छ । चारदिनको अवधिमा मात्र ९६ जना प्रवेश गरेका छन् ।’

आजै मात्र केचना र पाठामारी सीमामा ५० जना नेपाली आएर बसेको जानकारी आएको उनले बताए । ‘उनीहरूलाई अहिले नेपाली सुरक्षाकर्मीले सीमामै रोकेर राखेका छन्, क्वारेनटाइनको व्यवस्थापन भएपछि मात्र स्वास्थ्य जाँच गराएर उनीहरूलाई ल्याउँछौ,’ उनले भने ।’

अरु पनि आउने क्रममा रहेको बुझिएको छ। लुकिछिपी आउनु भन्दा सम्पर्क आएमा गाउँवासीमा त्रास नफैलिने उनको भनाई । कोही लुकिछिपी गाउँघरमा प्रवेश गरिसकेका छन् भने वडा तथा गाउँपालिकाको सम्पर्कमा आउन उनले सबैसँग अनुरोध गरेका छन् ।

गाउँपालिकाका १० जना कोरोना संक्रमित फेला परेपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको नेतृत्वको टोली कचनकवल गएका थिए । सो टोलीले त्यहाँको क्वारेन्टाइन, सुरक्षा अवस्था र सीमाका बारेमा गाउँपालिका अध्यक्ष आलमसँग बुझेका थिए ।