समाज

झापाको भद्रपुरमा आवतजावतमा कडाइ, कचनकवलसँग जोडिएका सीमा बन्द

By admin

May 23, 2020

रोहित काफ्ले, झापा। झापा जिल्लाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले अन्य क्षेत्रबाट नगरपालिका भित्र आवतजावतमा कडाइ गर्न थालेको छ ।

नगर विपद् व्यवस्थापन समितिले आवतजावतका कडाइसँगै लकडाउनलाई पनि कडाइका साथ पालना गर्ने गराउने निर्णय गरेको छ । शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

भद्रपुरसँग सीमा जोडिएको कचनकवल गाउँपालिका ‘कोरोनाको केन्द्रबिन्दु’ बन्दै गएपछि भद्रपुर नगरपालिकाले नगरभित्र उच्च सतर्कताको खाँचो औँल्याएको छ । कचनकवलमा ३३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भइसकेको छ ।

बैठकले नगरपालिकाको सीमा क्षेत्र, वडा सीमा क्षेत्र वा टोल विकास संस्थाको सीमा क्षेत्रलाई आवश्यकता अनुसार बन्द गरी आवागमनलाई नियन्त्रण गर्ने निर्णय गरेको नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताउनुभयो । नगरपालिकाले कचनकवलसँगको सीमा यसअघि नै बन्द गरिसकेको छ ।

अति आवश्यक कामको लागि आवतजावत गर्नु परेमा सम्बन्धित वडा अध्यक्षले आवश्यक व्यवस्था मिलाउने निर्णय भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

नगर विपद् व्यवस्थापन समितिले नगरपालिकाको आन्तरिक स्रोतबाट सञ्चालन हुने योजना तथा कार्यक्रमको नयाँ सम्झौता तथा कार्यादेश पनि बन्द गर्ने निर्णय गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका र फर्किन चाहने वा फर्किएका व्यक्तिको अभिलेख सङ्कलन गरी अद्यावधिक गर्ने तयारी छ । बैठकले नगरपालिका क्षेत्रमा रहेको क्वारेनटाइनमा रहेका व्यक्तिको विवरण अद्यावधिक गरी नियमित रूपमा प्रतिवेदन तयार गर्न आन्तरिक लेखा परीक्षक डिल्लीराज ढकाल र रोजगार संयोजक टीकाराम पाण्डेलाई जिम्मेवारी दिएको छ ।

नगरपालिकाको कार्यालय प्रत्येक दिन बिहान १० बजेदेखि २ बजेसम्म खुल्ला राख्ने निर्णय भएको नगर प्रमुख श्रेष्ठले बताउनुभयो । ‘वडा कार्यालयहरू आइतबार, मङ्गलवार, बिहीबार र शुक्रवार खुल्ला रहने छन्’, उहाँले भन्नुभयो ।