समाज

झापामा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहारको स्वास्थ्य संगठनद्वारा विरोध

By admin

June 06, 2020

बिर्तामोड । झापाको कमल गाउँपालिकामा स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार भएको भन्दै स्वस्थ्यकर्मीका विभिन्न संगठनले कार्वाहीको माग गरेका छन् । शनिवार विज्ञप्ति निकालेर उनीहरुले दोषीमाथि कडा कार्बाहीको माग गर्दै घटनाको निन्दा गरेका हुन् ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल सिएमए संघ, नेपाल स्वास्थ्यकर्मी संघ, हेल्थ असिस्टेण्ट एशोसिएसन, स्वास्थ्यकर्मी हित संरक्षण मञ्च, नेपाल पब्लिक हेल्थ एशोसिएसन, मिडवाइफरी एशोसिएसन लगायतले विज्ञप्ति निकालेर घटनाको विरोध गरेका छन् ।

कमल गाउँपालिकाको केर्खास्थित क्वारेन्टाइन व्यवस्थापन फाँटको सम्पर्क स्थानमा स्थानीय लालीमा एकाडेमी स्कूलका प्रिन्सिपल गौरीमान फागोको नेतृत्वमा आएको समूहले स्वास्थ्यकर्मीमाथि हुल हुञ्जत र दुव्र्यवहार गरेको नेपाल सिएमए संघ झापाका अध्यक्ष प्रदीप खरेलले बताए ।

‘यस्तो अवस्थामा स्वास्थ्यकर्मीको ज्यानै जाने गरी गरिएको अभद्र व्यहार निन्दनीय छ’, अध्यक्ष खरेलले भने, ‘तत्काल दोषीमाथि कार्वाही नभए त्यहाँका स्वस्थ्यकर्मी काममा जाने अवस्थामा छैनन् ।’ अध्यक्ष खरेलले पर्याप्त सुरक्षासहित स्वस्थ्यकर्मी खटाउनु पर्ने भन्दै यस्तो घटना नदोहोरिने अवस्था सिर्जना हुनु पर्ने बताए ।