समाज

जोगबनीबाट १ हजार ७०४ आए, २ हजार २७० बाहिरिए

By admin

June 09, 2020

विराटनगर । भारतका विभिन्‍न स्थानबाट सीमा नाकामा आएर बसिरहेका १ हजार ७०४ जनालाई प्रहरीले नेपाल प्रवेश गराएको छ ।

दुई साताको अवधिमा २४४ महिलासहित त्यति संख्याका नेपालीलाई प्रवेश गराइएको मोरङ प्रहरीले जनाएको छ ।

नेपाल प्रवेश गराइएकाहरुलाई विभिन्‍न स्थानमा राखिएको होल्डिङ सेन्टर र क्‍वारेन्टाइनमा राखिएको छ । यसैगरी उक्त अवधिमा जोगबनी नाका भएर ४६७ महिलासहित २ हजार २७० जना भारतीय नागरिकहरुलाई भारततिर पठाइएको प्रहरीले जनाएको छ ।

दुई सातायता दुवै देशका सुरक्षाकर्मीको समन्वयमा नागरिकहरुलाई आ–आफ्ना ठाउँमा पठाउने काम भइरहेको मोरङ प्रहरीको भनाइ छ ।

भारतबाट नेपालीहरु भित्रिने क्रम बढेसँगै मोरङमा क्‍वारेन्टाइन र होल्डिङ सेन्टरको संख्या पनि बढाइएको छ । मोरङका विभिन्न स्थानीय तहमा गरी ७१ स्थानमा क्‍वारेन्टाइन छन् ।

सोमबार साँझसम्म ती स्थानमा बस्‍नेको संख्या १ हजार २ सय ६८ पुगेको प्रहरीले जनाएको छ ।