ताप्लेजुङ । मंगलबार रातिको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–४ इखावुमा एउटा विद्यालयको भवन बगाएको छ ।

पहिरोले स्थानीयका चौपाया पनि बगाएको छ भने करिब २० घरको मकबाली बगाएको रानी आधारभूत विद्यालयका प्रधानाध्यापक प्रेम खतिवडाले बताए ।

खतिवडाका अनुसार इखावु साविक १ रेञ्जीङ तामाङको घर छेउबाट सुरु भएको पहिरोले रानी आधारभूत विद्यालयको चार कोठे पक्की भवन बगाएको छ । खाजाघर र शौचालयसमेत बगाउँदा ६० जोडी डेस्कबेन्च, विद्यार्थीलाई खाजा पकाउने भाँडाकुँडा, थाल, बटुका लगायतका सबै सामान बगाएको छ ।

भक्तबहादुरको भान्साघर बगाउनुका साथै सुँगुर पुरेको छ भने फुलबहादुर तामाङको बाख्राको गोठ पुरेको पहिरो गएको ठाउँमा रहेका खतिवडाले बताए ।

बेलुका ६ बजेदेखि यो ठाउँमा वर्षा भएको थियो । आज (बुधबार) बिहानको मौसम भने सफा रहेको छ । वर्षा रोकिएको छ ।

पहिरोको छेउमा घर उभिएकाले वर्षाको समयमा बस्ने वातावरण नभएको खतिवडाले बताए । गाउँपालिकाले जनप्रतिनिधि र प्रहरीलाईसमेत जानका लागि अनुरोध गरेको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताए । दुई वर्षअघि पनि यो क्षेत्रमा पहिरोले क्षति पुर्‍यएको थियो ।