झापा । रोग संक्रमणपछि अंगभंग हुने कुष्ठरोगबाट झापा जिल्ला उच्च जोखिममा रहेको बताइएको छ ।

नेपाल कुष्ठरोग संगति झापाको तथ्यांकले त्यस्तो अवस्था देखाएको हो । संगतिका झापा जिल्ला कार्यक्रम संयोजक परशुराम पोखरेलका अनुसार नेपालमा झापा जिल्ला उच्च जोखिममा रहेको छ ।

झापामा कुष्ठरोगको प्रकोप दर १ दशमलव ८२ रहेको उनले बताए । झापाबाहेक धनुषा जिल्लाका केही पालिकामा पनि कुष्ठरोगको संक्रमण दर उच्च रहेको जनाइएको छ ।

अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार आयोजना गरेको कुष्ठरोग रोकथाम कार्यक्रमअन्तर्गत कुष्ठरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रममा जानकारी दिँदै अर्जुनधारा नगरपालिकामा पनि कुष्ठरोगका नयाँ तीन जना बिरामी फेला परेको जानकारी दिए

उनका अनुसार नगरमा कुष्ठरोगीको संख्या ९ पुगेको छ । ६ जना पुराना कुष्ठरोगी रहेको बताइएको छ । थप तीन जनामा २ जना स्वास्थ्यकर्मीको सम्पर्कमा आइसकेको र एक जना महिलालाई सम्पर्क गर्ने काम भइरहेको पनि उनले बताए ।

झापाका १० हजार जनामा यसको प्रकोप दर २ जना र अर्जुनधारामा पनि २ जना रहेको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनले कुष्ठरोगलाई उन्मुलन भइसकेको जनाए पनि नेपाललगायत भारत, ब्राजिल, तान्जानिया, इन्डोनेसिया, म्यानमार र श्रीलंकामा नेपालमै जस्तै कुष्ठरोगीको संख्या रहेको बताइन्छ । जसमा भारतमा सबैभन्दा बढी कुष्ठरोगीको संख्या रहेको छ ।

भारतीय सिमावर्ती नेपालका जिल्ला यस रोगको संक्रमणबाच उच्च जोखिममा रहेको बताइएको छ । यो रोग माइक्रोब्याक्टेरियम लेप्रेबाट सर्ने गर्छ । मानिसले हाँछ्यु गर्दा निस्कने व्याक्टेरिया मानिसको गुप्ताङ्ग र टाउकोबाहेक सबै अंगबाट सर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

यो ब्याक्टेरिया प्रवेश गरेको १० जनामध्ये ३ जनामा सक्रिय हुने भए पनि यसको औषधि सेवन गरेका व्यक्तिबाट सर्ने सम्भावना ९९ प्रतिशतभन्दा कम रहेको बताइएको छ ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेललगायत वडाध्यक्षहरु सहभागी थिए ।