शनिश्चरे । झापाको अर्जुनधारामा पूर्ण खोप सुनिश्चितता र दिगोपना सुक्ष्म योजनासम्बन्धी अध्यावधिक गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख ईश्वरी पौडेलले पूर्ण खोपको औचित्य तथा प्रक्रिया लगायतका विषयमा सहजीकरण गरेका छन् ।

गोष्ठीमा खोपबाट बचाउन सकिने ११ प्रकारका रोग र जटिलता, खोपबाट बचाउन सकिने रोगहरुको सर्भिलेन्स, नियन्त्रण, निवारण र उन्मूलन, पूर्ण खोपको औचित्य, प्रक्रिया तथा गतिविधिहरु, सर्वेक्षणका लागि टिभ गठन, दिगोपनाका लागि रणनीतिजस्ता विषयमा छलफल गरिएको थियो ।

छलफलबाट असार १० गतेभित्र वडास्तरमा खोपको अवस्थाबारे सर्वेक्षण गरी यथार्थ वस्तुस्थितिका बारेमा वडाले प्रमाणित गरी नगरमा पठाउनेछ । वडाको रिपोर्टको आधारमा असार २० गतेभित्र नगरलाई पूर्ण खोप घोषणाको तयारी गरिने नगर शाखा प्रमुख मुकुन्द बस्नेतले जानकारी दिए ।

नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएकाे गोष्ठीमा उपप्रमुख कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, वडाध्यक्ष, जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।