बिर्तामोड । प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित झापा र सुनसरीबाट पाँच जनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ झापाको कमल ५ पाडाजुँगी हुँदै गौरादहतर्फ जाँदै गरेका उनीहरुमाथि शंका लागेपछि प्रहरीले पछ्याएको थियो । मे ११ प ६५४६ र बा ४४ प ९७८५ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

झापाका प्रहरी प्रवक्ता राकेश थापाका अनुसार पक्राउ पर्नेमा कमल ५ बस्ने २० वर्षका दिपेश थापा, झापा ४ बस्ने २१ वर्षका सेराज अली र सोही स्थानका २३ वर्षका अनन्तप्रसाद गणेश छन् । उनीहरुको साथबाट २८ दशमलव ९७ ग्राम ब्राउन सुगर बरामद गरिएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको थापाले जानकारी दिए ।

यसैबीच, लागूपदार्थ ओसारपसार गरेको आरोपमा सुनसरीमा दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको कोसी गाउँपालिका ७ हरिपुरमा उनीहरू पक्राउ परेका हुन् । भारतको सुपौल ग्राम पञ्चायत १ का २० वर्षीय लक्ष्मणकुमार पासवान र १९ वर्षीय अर्जुनकुमार पासवान पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको गस्ती टोलीले शंका लागेर उनीहरूको जाँच गर्दा कालो प्लास्टिकभित्र लुकाएको अवस्थामा ब्राउनसुगर बरामद भएको जनाइएको छ । उनीहरूका साथबाट केही भारतीय रुपैयाँ, भारतका विभिन्न बैंकका एटीएम कार्ड पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।