काठमाडौँ । पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थपिएका नयाँ संक्रमितसँगै नेपालमा हालसम्म कोरोना संक्रमतिको संख्या ९ हजार ५६१ पुगेको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले रसुवा जिल्ला बाहेक मुलुकका सबै जिल्लाहरुमा कोरोना संक्रमित भेटिएको बताए ।

थपिएका नयाँ संक्रमितहरु मध्ये झापाका ३ , मोरङका १२, सप्तरीका १५ , धनुषाका १० , महोत्तरीका १, अछामका २, अर्घाखाँचीका ९, बैतडीका १४, डडेलधुराका १५, डोटीका ७, गुल्मीका ५६, जाजरकोटका १, कैलालीका ५८, नवलपरासीका ५, सर्लाहीका ४७, सिन्धुपाल्चोकका २, सिरहाका २३, स्याङजाका ३३, पाल्पाका ९०, प्युठानका ३०, रौटहटका ३४, रुपन्देहीका १०, चितवनका ५, नवलपरासी पूर्वका २४, ओखलढुंगाका १,  तनहुँका ११ र दाङका १३ जना रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणलाई जितेर ३ सय ७० डिस्चार्ज भएका छन् । कोरोना विशेष अस्पताल दाङबाट ६ जना, प्रादेशिक अस्पताल सुर्खेतबाट ६ जना, कालिकोट अस्प्तालबाट २८ जना, दैलेख अस्पताल दुल्लुबाट २६५ जना, सल्यान अस्पतालबाट ३७ जना, नारायणी अस्पताल विरगञ्‍जबाट ११ जना र धादिङ अस्पतालबाट १७ जना डिस्चार्ज भएका हुन् । योसँगै निको हुनेको संख्या २ हजार १४२ पुगेको छ ।

मन्त्रालयका अनुसार सोमबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ६८ हजार १ सय ३ नमुना परीक्षण भएका छन् । २४ घण्टामा ५ हजार ९२९ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ८१ हजार ३७१ परीक्षणहरु गरिएका छन् र २४ घण्टामा ६ हजार १९८ परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९० हजार ७३० जना रहेका छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ७ हजार २३१ जना रहेका छन् ।